काठमाडौं । जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित ‘आमाको माया छात्रावास’ को १५औं वार्षिकोत्सव वागमती प्रदेशमा एक भव्य समारोहका साथ सम्पन्न भयो ।
कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले जनजाति समुदायमा अपार सम्भावना भएता पनि विकासको मूलधारमा पछाडि परिरहेको उल्लेख गर्दै यस पृष्ठभूमिमा आश्रमले गरिरहेको कार्यको प्रशंसा गरे ।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सहभागी भारतीय जनता पार्टीका सांसद तथा रामायण टेलिश्रृङ्खलामा रामको भूमिका निर्वाह गरेका कलाकार अरुण गोविलले जनजाति बालबालिकाको शिक्षामार्फत उज्वल भविष्य निर्माणमा लागेको ‘आमाको माया छात्रावास’ अभियानप्रति उच्च सम्मान प्रकट गर्दै, “जो बच्चा कहिले केवल परमात्माको सहारामा हुन्थे, आज उनीहरूका लागि आश्रमको सेवा जीवनको आधार बनेको छ,” भने । सबैको साथ, सबैको प्रयास, सबैको सहयोग, सबैको विश्वास एकसाथ लिएर कुनै पनि अभियानले गति पाउने भन्दै उनले सबैलाई कल्याण आश्रमका यस अभियानसँग सामर्थ्यअनुसार जोडिन पनि आग्रह गरे ।
हिन्दू स्वयंसेवक सङ्घ नेपालका राष्ट्रिय सहप्रचारक रेवित कुमारले कार्यक्रमलाई सम्बोधन गर्दै जनजाति समुदाय धर्मान्तरणका लागि सबैभन्दा सजिलो लक्ष्य भएकाले विधर्मीहरू यस क्षेत्रमा सक्रिय रहेको र त्यसले परम्परा, संस्कृति र आस्थामाथि खतरा उत्पन्न गरिरहेको बताए । “मन्दिर, गुम्बा, जस्ता धार्मिक स्थलहरूमा जाने व्यक्ति स्वधर्ममा रहेमात्र ती स्थलहरू सुरक्षित रहन सक्छन्,” उनले भने ।
जनजाति समुदायको संरक्षण र उत्थान समग्र समाजको साझा जिम्मेवारी भएको उनले बताए । आश्रमका महासचिव प्रेम थुलुङले छात्रावासको सुरूआत चार बालबालिकाबाट भएको स्मरण गर्दै हाल देशका विभिन्न ११ स्थानमा यसले सेवा पुर्याइरहेको जानकारी दिए ।
Facebook Comment
Comment