काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत अङ्गदमणि गौतममाथि मोसो प्रहार भएको छ। नेपाल विद्यार्थी सङ्घका बागी उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले गौतममाथि मोसो प्रहार गरेका हुन्।
मङ्गलबार गर्न लागिएको मतदानको पूर्वतयारीका लागि छलफल चलिरहँदा निर्वाचन अधिकृत गौतममाथि मोसो प्रहार भएको हो । निर्वाचन समितिले आयोजना गरेको बैठकमा निर्वाचनमा उम्मेदवार बनेका सबै पक्ष सहभागी थिए । बैठकमा निर्वाचन अधिकृत गौतमले निर्वाचनका बाँकी प्रक्रियामा अगाडि बढाएर भोलिको मतदानका लागि भएका तयारीबारे जानकारी गराएका थिए ।
जसरी पनि निर्वाचन रोक्नुपर्ने धारणासहित बैठकमा सहभागी भएका बानियाँ र श्रेष्ठ बैठकबाट बाहिरिए । केहीबेरपछि पुनः निर्वाचन समितिको कार्यालयमा आएका उनीहरूले निर्वाचन अधिकृत गौतममाथि मसी प्रहार गरेका हुन् ।
विवादका कारण यसअघि तीन पटकसम्म स्थगित भएको स्ववियु निर्वाचन भोलिका लागि तोकिएको छ । जसरी पनि मतदान रोक्ने प्रयासमा रहेकाहरूले घटना गराएको त्रिचन्द्रका विद्यार्थी नेताहरूले जनाएका छन् ।
घटनापछि निर्वाचन अधिकृत गौतमले जसरी पनि निर्वाचन रोक्ने मानसिकताका साथ आएका बानियाँ र श्रेष्ठले आफूमाथि अपशब्द प्रयोग गर्दै मसी प्रहार गरेको बताए ।
विवेक बानियाँले त्रिचन्द्र स्वाभिमानी स्वतन्त्र विद्यार्थी सङ्घको नामबाट उम्मेदवारी दर्ता गराएका थिए भने श्रेष्ठले नेविसङ्घको भनेर उम्मेदवारी दर्ता गराएका थिए। नेविसङ्घबाट दुईवटा प्यानल देखिएपछि अर्को समूहले आधिकारिकता पाएपछि उनीहरू स्वतः स्वतन्त्र बनेका थिए ।
Facebook Comment
Comment