दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा कुलमानबारे जवाफ दिँदै प्रधानमन्त्री ओली

पाँच अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रियसभाबाट पारित गरिँदै

नेपालभ्युज

दुवै सदनको बैठक बस्दै, प्रतिनिधिसभामा कुलमानबारे जवाफ दिँदै प्रधानमन्त्री ओली

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज (सोमबार) बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे तथा राष्ट्रियसभा ११ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

यतिबेला संसद्मा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विरोधमा नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले अवरुद्ध गरिरहेका छन् । उनीहरूले यसमा प्रधानमन्त्रीको जवाफ मागिरहेका छन् । यसैले आज प्रधानमन्त्री केपी शर्मा ओलीले यस प्रकरणमा जवाफ दिने बताइएको छ ।

साथै आजको बैठकमा ‘बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक– २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्नेछन् ।

यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन– २०८१’ पेस गर्नेछन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक– २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक– २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सरकारले ल्याएका पाँच अध्यादेश प्रतिस्थापन विधेयक आज राष्ट्रियसभाबाट पारित गरिँदैछ ।

अध्यादेश संसद् सुरु भएको ६० दिनभित्र ऐनमा रुपान्तरित भइसक्नपर्ने संवैधानिक व्यवस्थाअनुसार आज प्रतिस्थापन विधेयक पारित गरिसक्नुपर्ने बाध्यता छ ।

यी विधेयकहरू मङ्गलबार राति १२ बजेसम्म ऐनमा रुपान्तरित भइसक्नुपर्छ । त्यसैले आजै छलफलसहित पारित गर्ने तयारी गरिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved