काठमाडौं, चैत १० गते । सरकारले संक्रमणकालीन न्यायका बारेमा रोकिएको प्रक्रिया अघि बढाउने प्रयास थालेको छ। यसका लागि प्रमुख दलका शीर्ष नेताहरूको बैठक सोमबार दिउँसो बोलाइएको छ।
बैठकको मुख्य एजेन्डा संक्रमणकालीन न्यायको विषय रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले जानकारी दिए ।
‘सर्च कमिटी गठन भएपछि काम हुन सकेन, त्यसको म्याद सकिएपछि सबै प्रक्रिया रोकिएको छ,’ पूर्वमहान्यायाधीवक्ता खरेलले भने, ‘जहाँबाट प्रक्रिया रोकिएको थियो, त्यसलाई अघि बढाउनेबारे छलफल गर्न बैठक बोलाइएको हो। बाँकी कुरा उहाँहरूले अघि बढाउनुहुन्छ होला।’
संक्रमणकालीन न्यायसम्बन्धी कानुन संशोधन भएपछि सरकारले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगका अध्यक्ष र सदस्यहरू छनोट गर्न समिति गठन गरेको थियो।
सो समितिले आवेदन आह्वान गर्ने, सूची बनाउने र आवेदकहरूसँग अन्तर्वार्ता गर्ने लगायतका प्रक्रिया पूरा गरेपनि उनीहरूको नाम सिफारिस भने गर्न सकेको थिएन।
कुनै निर्णय गर्न नसकेका बेला समितिको म्याद सकिएपछि सबै प्रक्रिया रोकिएको थियो। कुनै एजेन्डा तय नभएपछि सोमबारको बैठकमा अर्को समिति गठन र त्यही सेरोफेरोका विषयमा छलफल हुने बताइएको छ ।
Facebook Comment
Comment