लोकसेवामा नाम निकाल्न पढाइसँग लभ पर्नुपर्छ 

लोकसेवामा नाम निकाल्न पढाइसँग लभ पर्नुपर्छ 

काठमाडौं भनिन्छ, सफलताको भोक लागेपछि मात्रै मानिसले आफ्नो सपना पूरा गर्न सक्छ । सफलताको सिँढी चढिरहेकी अति सीमान्तकृत समुदायकी आशा माझीको भोगाइ पनि ठ्याक्कै त्यस्तै छ ।

सिन्धुलीको भिमानमा जन्मिएकी आशा अहिले भक्तपुरस्थित चाँगुनारायण अस्पतालमा अधिकृतको रूपमा कार्यरत छन् । खोला किनारामा सीमित पुर्खाहरूको सीमा तोडेर देशको सेवा गर्न कस्सिएकी आशालाई आफ्नो समुदायका व्यक्ति पनि निजामती सेवामा आएको हेर्ने ठूलो रहर छ ।

उनी आफ्नै भोगाइ सुनाउँदै भन्छिन्, ‘मेरो एक जना हाकिमले भन्नुहुन्थ्यो, म यो नगरपालिका त आफ्नै परिवारको मान्छे ल्याएर नै चलाइदिन्छु । त्यति जना हामी निजामती क्षेत्रमा छौँ । उहाँले त्यति भनिरहँदा मैले भनेकी थिएँ, मेरो त समुदाय भरिकै मान्छे ल्याउँदा पनि यो अफिस चल्दैन ।’

बैङ्करलाई देखेपछि जागिर खाने मोह 

आशा बाल्यकाल सम्झँदै आमासँग बैङ्क जाँदा त्यहाँका कर्मचारी देखेपछि उनीहरू जस्तै जागिर खानुपर्छ भन्ने लागेको बताउँछिन् । ‘बैङ्कर र बिजुलीको बिल तिर्न जाँदा पैसा काट्नेहरूलाई देख्दा भविष्यमा अफिसर बन्नुपर्छ भन्ने सोच पलाउँथ्यो,’ उनी भन्छिन् । 

यद्यपि, परिवारमा दाइहरू पहिला नै प्रहरी, सेनातिर भएकाले उनलाई पनि त्यतै जागिर खानुपर्छ भनेर भनिन्थ्यो । ‘परिवारमा सरकारी जागिर भनेको आर्मी मात्र थाहा थियो । त्यसैले मलाई पनि आर्मी नै बन्नुपर्छ भन्नुहुन्थ्यो,’ उनी सुनाउँछिन् ।

स्नातकोत्तर पहिलो वर्ष पढिरहँदा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा शान्ति निर्माण परियोजनामा अफिसर लेभलकै कर्मचारी माग गरियो । उनले त्यहाँ फारम भरिन र परीक्षा दिइन् । स्नातकोत्तरसँगै अफिसरको तयारी गरिरहेकी आशालाई सो परियोजना सरकारी सेवामा हाम फाल्ने पहिलो खुड्किलो बन्यो ।

दुई वर्षे अवधिको परियोजनामा काम गरिसकेपश्चात् उनले लोकसेवाको तयारीमा आफूलाई समर्पण गरिन् । त्यही दौरानमा फेरि २०७२ सालमा उनले सहायक महिला विकास निरीक्षकमा नाम निकालिन् । त्यसै क्रममा उनको विवाह पनि भयो । साथै केही वर्षमा उनी आमा बनिन् ।

आमा बनेपछि आशाको दैनिकी घर-परिवारमा केन्द्रित भयो । यद्यपि उनी त्यसैमा सीमित भइनन् । सरकारी जागिरको भोकमा रन्थनिएकी आशाले निरन्तर मेहनत गरिन् । फलस्वरूप २०७६ सालमा अधिकृतमा नाम निकाल्न सफल भइन् ।

लोकसेवा पास गर्न पाठ्यक्रमसँग लभ

लोकसेवामा पास गर्न कसरी पढ्नुपर्छ, भन्ने प्रश्नको जवाफमा उनी भन्छिन्, ‘जब लोकसेवाको सेलेबससँग लभ पर्छ तब मात्र पास भइन्छ, नाम निस्किन्छ ।’ क्याम्पस र स्कूलमा पढेको जस्तो पढेर लोकसेवा पास नभइने उनको अनुभव छ । आशाकाअनुसार अधिकृत बन्ने होडमा उनको सङ्घर्षलाई टेको हाल्न भूकम्प आइदियो ।

भूकम्पपश्चात् काठमाडौंमा बस्न डरको स्थिति सिर्जना भयो । श्रीमानको सल्लाहअनुरूप सानो बच्चा लिएर केही समयको लागि उनी भिमान (माइती) गइन् । सानो बच्चा आमाले हेर्ने, खाना भाउजूहरूले पकाउने हुँदा आशाको काम केही भएन त्यही मौका छोपी उनले रातदिन अधिकृतको तयारी गर्न थालिन् ।

‘त्यति बेला त मेरो काम नै पढ्ने थियो । बिहान पढ्ने, खाने फेरि पढ्ने, निद्रा लाग्यो भने सुतिहाल्ने जागेपछि फेरि पढ्न थाल्ने । राति १२ बजे बिउँझियो भने त्यति बेलादेखि नै पढ्न थाल्ने, त्यसरी पढेँ ।’ आशा भन्छिन्, ‘पढ्दा पढ्दा यतिसम्म भयो की एउटा किताब त मलाई जहाँबाट सोधे पनि आउने भयो ।’

उनलाई त्यो पढाइले निकै निखार्‍यो । बाटोमा हिँड्दा देखिएका जे चिज पनि उनी लोकसेवाको किताबमा खोतल्न थाल्थिन् ।

‘म बाटोमा हिँड्दा चरा देखेँ भने नेपालमा चरा यति प्रकारका छन् भन्ने आइहाल्थ्यो, माटो देख्यो भने माटो यति प्रकारका हुन्छन्, योयो ठाउँमा यस्तो यस्तो माटो पाइन्छ, जङ्गल देखे नेपालमा जङ्गल यति प्रतिशत छ भन्ने याद आइहाल्थ्यो ।’ उनी सुनाउँछिन् ।

लोकसेवा, आरक्षण र महिला

निजामती सेवामा प्रदेश गर्न पावर चल्छ भन्ने गलत रहेको आशा बताउँछिन् । उनी भन्छिन्, ‘म एउटा अति पिछडिएको समुदायको छोरी मेरो पावर लाइदिने को थियो होला र ? मैले खरिदार कोटाबाटै लडेर नाम निकालेँ, अहिले अधिकृतमा खुलाबाट आएकी हुँ ।’

कोटाबाट निजामती सेवामा प्रवेश गर्नेले प्रभावकारी सेवा दिन सक्दैनन् भन्नु गलत रहेको उनी बताउँछिन् । आरक्षणले पिछडिएको समुदायको मनोबल बढ्ने तर, खुला जस्तै पढ्नुपर्ने हुँदा काम गर्न सक्दैन भन्नु गलत रहेको उनको भनाइ छ ।

उनी थप्छिन्, ‘कोटा भनेको जो पिछडिएका छन् उनीहरूको मनोबल बढाएर ल्याउने एउटा पाटो मात्र हो । बाँकी आफैँले पढ्नुपर्छ र मिहेनत गर्नुपर्छ ।’

आशा अझै पनि समाजले महिलाको क्षमतामाथि शङ्का गर्ने परिपाटी नहराएकोमा चिन्ता व्यक्त गर्छिन् । हरेक समय महिलाले आफूलाई म काम गर्न सक्छु भनेर प्रमाणित गर्नुपर्ने अवस्था रहेको उनको अनुभव छ ।

उनी भन्छिन्, ‘काम गर्ने क्रममा कार्यालयमा पुरुषले केही बिगार्दा या काम गरिरहँदा उनीहरूमाथि धेरै निगरानी नहुँदो रहेछ । महिलालाई चाहिँ ओहो, यसले कसरी गर्छे हेरौँ न त, यसले गर्न सक्छे की सक्दिनँ भन्ने खालको निगरानी हुँदो रहेछ ।’

‘त्यसैले महिलाले क्षमता नै प्रमाणित गर्नुपर्ने स्थिति रहेको आशाको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved