क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी

क्यान्सर रोग पुरुषमा भन्दा महिलामा बढी
प्रतीकात्मक तस्वीर

चितवन। पुरुषमा भन्दा महिलामा क्यान्सर रोग बढी देखिएको छ। यहाँको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आउने बिरामीको तथ्यांकले पुरुषभन्दा महिलाको संख्या बढी देखाएको हो। अस्पतालको तथ्यांकअनुसार कूल नयाँ क्यान्सरका बिरामीमध्ये ५५ प्रतिशत महिला र पुरुष ४५ प्रतिशत छन्।

गत आर्थिक वर्षमा अस्पतालमा ९० हजार ५७१ ले सेवा लिएकामा चार हजार ६०८ नयाँ क्यान्सरका बिरामी थिए। अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमका अनुसार नयाँ क्यान्सका बिरामीमध्ये दुई हजार ५१७ महिला र दुई हजार ९१ पुरुष रहेका छन्। पच्चीस हजार हाराहारी पुराना क्यान्सरका बिरामी रहेको उनको भनाइ थियो।

अघिल्ला वर्षको तुलनामा कोभिडका कारण गत वर्ष बिरामीको संख्या कम देखिएको र त्यस अवधिमा महिलाको संख्या बढ्दै गएको कार्यकारी निर्देशक गौतमले बताए। अस्पतालमा आएका बिरामीमध्ये सबैभन्दा बढी १२ प्रतिशत फोक्सोको क्यान्सरका थिए। दोस्रो धेरै पाठेघरको मुखको क्यान्सर १० दशमलव १७ प्रतिशत, स्तनको क्यान्सर १० दशमलव ११ प्रतिशत, मुखभित्रको क्यान्सर नौ दशमलव पाँच प्रतिशत रहेका थिए। यस्तै महिलाको पाठेघर, पित्तथैली, आमाशय, थाइराइड र कलेजोमा ल्युकेमिया, कोलनजस्ता क्यान्सर हुने गर्दछ। पुरुषको आमाशय, पिसाबथैली, ल्यारेक्स, कलेजो, ल्युकेमिया र जिब्रोमा रेक्टम, कोलनजस्ता क्यान्सर बढी हुने गरेका छन्।

क्यान्सर हुनाको यकिन कारण भन्न नसकिए पनि स्तन र पाठेघरको मुखको क्यान्सर बढी भएका कारण महिलाको संख्या बढ्दै गएको हुनसक्ने अनुमान उनको थियो। पुरुष प्राय उपचारका लागि विदेश जाने तर धेरैजसो महिलाको यही उपचार हुने भएकाले पनि महिलाको तथ्यांक बढेको हुनसक्ने पनि अनुमान गरिएको छ। निर्देशक गौतमको भनाइमा नेपालमा २५ हजार हाराहारी नयाँ बिरामी थपिन्छन्। तीमध्ये आधाभन्दा बढी उपचारका लागि विदेश जाने गर्दछन्।

अस्पतालका महिला क्यान्सर रोग विशेषज्ञ डा. विजय आचार्यले महिलाको स्तन र पाठेघरको मुखको क्यान्सर धेरैजसोलाई हुने भएकाले महिलाको संख्या बढ्नामा एउटा कारण हुनसक्ने बताए। पुरुष विदेश गएर उपचार गराउने र प्राय महिलाको नेपालमै उपचार हुने भएर संख्या बढेको हुनसक्ने उनको पनि आकलन थियो। यहाँको क्यान्सर अस्पतालमा गत वर्ष थोरै संख्यामा उपचार भएकाले यही तथ्यांकको आधार नै सही हो भन्न सक्ने अवस्था नरहने उनको भनाइ थियो। पहिले पहिले दुई तीन प्रतिशत पुरुष बढी क्यान्सर रोगी हुने गरेको अस्पतालका पूर्वकार्यकारी निर्देशकसमेत रहनुभएका आचार्यको भनाइ थियो।

सोही अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. अनिलविक्रम कार्कीले महिलामा जनचेतना बढेका कारण परीक्षण गराउन आउने संख्या बढेको हुनसक्ने बताए। उनले भने, “पाठेघरको मुख र स्तनजस्ता क्यान्सर घटाउन स्थानीयस्तरमा जनचेतनाका कार्यक्रम गर्नुपर्‍यो।” स्क्रिनिङ कार्यक्रम गरेर परीक्षण गर्ने र व्यापक जनचेतना जगाउन सकेमा क्यान्सर रोकथाम गर्न सहज हुने उनको भनाइ थियो।

अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्माले खानपान र आनीबानीबाट आधाभन्दा बढी क्यान्सर रोग घटाउन सकिनेमा जोड दिए। उनले भने, “समयमै उपचार गरे धेरैजसो क्यान्सर निको हुन्छ।” सुर्तीजन्य पदार्थ, मदिरा र लागुपदार्थले क्यान्सर बढाउने गर्दछ। बासी, सडेगलेका र ढुसी परेका खानेकुरा, पोलेर वा डढेको मासुलगायत खानेकुरा र अखाद्य रङ प्रयोग गरेका खानेकुरा खाएमा क्यान्सर हुनसक्ने सम्बद्ध चिकित्सकले बताए।

धुलो, धुँवा र वातावरणीय प्रदूषणबाट जोगिन, नियमित शारीरिक व्यायाम गर्न, मौसमअनुसारका सागपात, तरकारी र फलफूलको नियमित सेवन गर्न पनि उनीहरूले सुझाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved