काठमाडौं। नेपाल क्रिकेट सङ्घ (क्यान)ले मुख्य प्रशिक्षक सर्टलिष्ट प्रक्रिया सुरु गरेको छ ।
आवेदन मिति समाप्तिसँगै क्यानले सर्टलिष्ट प्रक्रिया अघि बढाएको हो । मुख्य प्रशिक्षकमा ७० भन्दा बढीको आवेदन परेको अध्यक्ष चतुरबहादुर चन्दले नेपालभ्युजलाई बताए ।
“७० भन्दा बढी नै आवेदन आएको छ । ७२ देखि ७५ बीचको सङ्ख्यामा आवेदन परेको छ,” उनले भने ।
आवेदनबाट सर्टलिष्ट प्रक्रिया सुरु गरिएको क्यानका सचिव पारस खड्काले जानकारी दिए । “हामीले सर्टलिष्ट प्रक्रिया सुरु गरिसक्यौँ । सम्भवत: आज त्यस सूचीलाई अन्तिम टुङ्गोमा पुर्याउँछौँ,” उनले भने ।
क्यानले फेब्रुअरी १५ मा इङ्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्ड ‘इसीबी’ वा सीए लेभल-३ को योग्यता माग्दै मुख्य प्रशिक्षकमा आवेदन खुलाएको थियो । आवेदनको म्याद २८ फेब्रुअरीमा समाप्त भएको थियो ।
केही दिनअघि एउटा कार्यक्रममा सचिव खड्काले पनि नियुक्तिको प्रक्रिया पुरुष प्रधानमन्त्री कपसम्म पूरा गर्ने लक्ष्यमा क्यान रहेको बताएका थिए ।
“पीएम कपको दौरान प्रशिक्षक नियुक्तिको प्रक्रिया सकिएमा खेलाडीहरुको क्षमता बुझ्ने मौका पाउनुहुन्छ । प्रतियोगिता लगत्तै अन्तर्राष्ट्रिय होम एण्ड अवे शैलीको सिरिज आयोजना गर्न हामीले प्रक्रिया सुरु गरेका छौँ । टेस्ट मान्यता प्राप्त राष्ट्रसँग पनि कुरा अन्तिम चरणमा पुगेको छ । प्रशिक्षक चाँडै आउनुहुन्छ भन्ने आशा गरेका छौँ,” खड्काले भनेका थिए ।
निकै अनुभवी प्रशिक्षक तथा प्रशिक्षकका एजेन्सीले पनि आवेदन दिएको सचिव खड्काको भनाइ थियो । उनले हाइ प्रोफाइल प्रशिक्षकभन्दा पनि नेपाली क्रिकेटलाई सम्हाल्न सक्ने प्रशिक्षकको आवश्यकता रहेको बताए । “कहिलेकाहीँ नाम मात्र नभएर काम महत्वपूर्ण हुन्छ । हाइ प्रोफाइलभन्दा पनि नेपाली क्रिकेटलाई सम्हाल्न सक्ने प्रशिक्षकको अवश्यकता छ,” उनको भनाइ छ ।
प्रशिक्षकको आगमनपश्चात कोचिङ युनिट र प्लेयर्सबीचको तालमेलले नै भविष्यमा टोलीले पाउने नतिजा निर्भर हुने खड्का बताउँछन् ।
राष्ट्रिय क्रिकेट टोलीको लागि अब महत्वपूर्ण खेल भनेको विश्वकप क्वालिफायर भएको उनले बताए । सीडब्ल्यूसीको वरीयतामा नेपाल अलिक तल भएकोले हरेक खेल महत्वपूर्ण भएको उनको भनाइ छ ।
सबै प्रक्रिया सकेर तीन साताभित्र मुख्य प्रशिक्षक नियुक्ति हुने अध्यक्ष चन्दको दाबी छ ।
Facebook Comment
Comment