त्रिशक्ति सेक्युरिटिजको ललितपुरमा नयाँ शाखा, सेवा विस्तारमा जोड

नेपालभ्युज

त्रिशक्ति सेक्युरिटिजको ललितपुरमा नयाँ शाखा, सेवा विस्तारमा जोड

काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेडले ग्राहक सेवा विस्तार र लगानीकर्तालाई थप सहज तथा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले आफ्नो पाँचौं शाखा कार्यालय ललितपुरको जावलाखेलमा शुभारम्भ गरेको छ। ललितपुर महानगरपालिका वडा नं. ५, जावलाखेलमा आइतबार आयोजित एक विशेष कार्यक्रममा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अध्यक्ष शोभाकान्त पौडेलले शाखाको उद्घाटन गरे।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै अध्यक्ष पौडेलले शेयर बजारको जोखिम र प्रतिफलबारे चर्चा गर्दै लगानीकर्तालाई सुनिश्चित भएर लगानी गर्न आग्रह गरे। नेपालको पूँजी बजारमा धेरै सम्भावना रहेको र यसको विकासका लागि ब्रोकर कम्पनीहरूको योगदान महत्त्वपूर्ण रहेको उनले बताए। त्रिशक्ति सेक्युरिटिजको सेवा विस्तारले लगानीकर्तालाई थप सहजता दिने विश्वास उनले व्यक्त गरे।

विशेष अतिथि ललितपुर महानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष विकासमान श्रेष्ठले कम्पनीको प्रगतिको शुभकामना दिँदै आवश्यक सहयोगका लागि तत्पर रहेको बताए। लगानीकर्ताको तर्फबाट दीपक रिमालले शेयर बजारको महत्व र औचित्यमाथि प्रकाश पारे।

कम्पनीका प्रबन्ध निर्देशक गोविन्द दाहालले स्वागत मन्तव्य राख्दै सेवा विस्तारमार्फत लगानीकर्ताको पहुँचलाई सहज बनाउने प्रतिबद्धता जनाए। उनले सम्पूर्ण लगानीकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्ने आश्वासन दिए। कार्यक्रमको अध्यक्षता कम्पनीका संस्थापक अध्यक्ष टंकप्रसाद गौतमले गरेका थिए।

त्रिशक्ति सेक्युरिटिजले यसअघि पुतलीसडकस्थित केन्द्रीय कार्यालयका साथै पोखरा, महेन्द्रनगर र हेटौंडाबाट डिम्याट, टीएमएसलगायतका शेयर कारोबारसम्बन्धी सेवा प्रदान गर्दै आएको छ। ललितपुर शाखाको थप विस्तारले उपत्यकाका लगानीकर्ताहरुलाई थप सहज हुने विश्वास कम्पनीले लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved