काठमाडौं । ओडीसा घटनामा भारतस्थित नेपाली दूतावासले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयसँग छलफल भएको जानकारी दिएको छ।
नेपाली दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै विकसित घटनाक्रमहरूका सम्बन्धमा उक्त शैक्षिक संस्थाका रजिस्ट्रारलगायतका प्रतिनिधिहरूसँग छलफल भएको जनाएको हो।
दूतावासका अनुसार छलफलमा नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न र छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरिको छ। ‘उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको कक्षा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको थियो। यस राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरुलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ,’ विज्ञप्तिमा भनिएको छ।
दूतावासले मृतक प्रकृति लम्सालको मृत्यु सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन जोड दिएको जनाएको छ। ‘सो शैक्षिक संस्थाले उक्त विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको छ। यस घटनाका सम्बन्धमा यस राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरूबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।
दूतावासले केही समस्या भए दूतावासको इमेल [email protected] र हटलाइन न: +९१ ८९२९६०१९३५ मा सम्पर्क गर्नसमेत आग्रह गरेको छ।

Facebook Comment
Comment