भारतसँग उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने सहमति

नेपालभ्युज

भारतसँग उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने सहमति

काठमाडौं । अन्तरदेशीय विद्युत् व्यापारलाई सहज बनाउन नेपाल र भारतबीच उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने सहमति भएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवका अनुसार सन् २०३४–३५ सम्म निर्माण सम्पन्न गर्ने गरी दुई वटा नयाँ प्रसारण लाइन र एक हाल सञ्चालनमा रहेको प्रसारण लाइनको क्षमता वृद्धिका विषयमा समझदारी भएको हो ।

नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले निजगढ–हरनैया–मोतीहारी (४०० केभी) र कोहलपुर–लखनउ (४०० केभी) प्रसारण लाइन निर्माण गर्ने निर्णय गरेको छ ।

यसैगरी, हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फपुर (४०० केभी) प्रसारण लाइनमा उच्च क्षमताको कन्डक्टर प्रतिस्थापन गरी एक हजार मेगावाटसम्म बिजुली आयात–निर्यात गर्ने सहमति भएको छ ।

यसअघि नै इनरुवा–पूर्णिया र दोदोधारा–बेरेली (४०० केभी) प्रसारण लाइन निर्माण गर्ने समझदारी भइसकेको थियो । यस्तै, न्यूबुटवल–गोरखपुर (४०० केभी) प्रसारण लाइन निर्माण कार्य जारी छ ।

सरकारको दीर्घकालीन लक्ष्य अनुसार कुल २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ । यसमध्ये १० हजार मेगावाट भारतलाई, पाँच हजार मेगावाट बङ्गलादेशलाई निर्यात गर्ने र १३ हजार मेगावाट आन्तरिक खपतका लागि प्रयोग गर्ने नीति सरकारले लिएको छ ।

ऊर्जा सचिवस्तरीय बैठक गत माघ २९ गते भारतको नयाँ दिल्लीमा सम्पन्न भएको थियो । नेपालका तर्फबाट ऊर्जा सचिव सुरेश आचार्य र भारतका तर्फबाट विद्युत् सचिव पङ्कज अग्रवालले बैठकको सह-अध्यक्षता गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved