काठमाडौं । इन्स्टेन्ट नुडल्स (रामेन) तपाईंलाई धेरै मनपर्छ होला । बच्चा, युवा र व्यस्त जीवनशैली भएका मानिसले यसलाई सजिलै बनाउन सकिने भएकाले धेरै मन पराउँछन् ।
तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ – इन्स्टेन्ट नुडल्सको अधिक सेवनले तपाईंको स्वास्थ्यलाई कति नोक्सान पुर्याउन सक्छ ?
अध्ययनले देखाउँछन् इन्स्टेन्ट नुडल्सको अत्याधिक सेवन मुटु रोग, मधुमेह, स्ट्रोक र अन्य गम्भीर स्वास्थ्य समस्याको कारण बन्नसक्छ ।
विशेषगरी महिलाका लागि यसको जोखिम बढी हुन्छ । आउनुहोस्, विस्तृत रूपमा जानौँ यो स्वादिष्ट तर स्वास्थ्यका लागि हानिकारक खाना कसरी हाम्रो शरीरलाई प्रभावित गर्छ ?
इन्स्टेन्ट नुडल्स मूल रूपमा जापान र दक्षिण कोरियाबाट आएका हुन्, तर अहिले यो नेपाली बजारमा ठूलो मात्रामा उपलब्ध छन् । बच्चा र युवा यो ठूलो मात्रामा खान्छन्, किनभने यो छिटै बन्छ र स्वादिलो पनि हुन्छ । तर, यसमा भएको सोडियम, अस्वस्थ बोसो र प्रिजर्भेटिभ्सले शरीरमा गम्भीर नकारात्मक प्रभाव पार्न सक्छ ।
बेलर विश्वविद्यालयद्वारा गरिएको एक अध्ययनमा जसले इन्स्टेन्ट नुडल्सको सेवन गर्छन्, उनीहरूमा मेटाबोलिक सिन्ड्रोम विकास हुने सम्भावना बढी हुन्छ । मेटाबोलिक सिन्ड्रोम यस्तो स्वास्थ्य अवस्थाहरूको समूह हो, जसले पछि गएर मुटु रोग, मधुमेह र स्ट्रोकको जोखिम बढाउन सक्छ ।
स्वास्थ्य विशेषज्ञकाअनुसार यदि कुनै व्यक्तिले हप्तामा दुईदेखि तीन पटक इन्स्टेन्ट नुडल्स खान्छ भने मुटु रोग, उच्च रक्तचाप र टाइप–२ मधुमेहजस्ता रोगको जोखिम बढ्न सक्छ ।
हेरौँ, असर
यसमा भएको रिफाइन्ड पिठो (मैदा आधारित नुडल्स) पेटमा सजिलै पच्दैन, जसले ग्यास, एसिडिटी र कब्जियत जस्ता समस्याहरू निम्त्याउन सक्छ । इन्स्टेन्ट नुडल्समा धेरै मात्रामा सोडियम (नुन) हुन्छ, जसले रक्तचाप बढाउन सक्छ र मुटु रोगको जोखिम बढाउन सक्छ ।
साथै, यसमा भएको अस्वस्थ बोसो र ट्रान्स फ्याटले शरीरमा अनावश्यक बोसो बढाउँछ, जसले मोटोपनको समस्या निम्त्याउन सक्छ । यो खाना केवल स्वादिलो हुन्छ तर यसमा आवश्यक भिटामिन, प्रोटिन, फाइबर वा मिनरल्स हुँदैनन्, जसले गर्दा शरीरले उचित पोषण पाउँदैन ।
महिलाहरूका लागि किन बढी खतरनाक ?
अध्ययनले यो पनि देखाएको छ कि पुरुषहरूको तुलनामा महिलाहरूका लागि इन्स्टेन्ट नुडल्स बढी हानिकारक हुनसक्छ । यसको कारण महिलाहरूमा हर्मोनल सन्तुलन प्रभावित हुने गर्छ ।
इन्स्टेन्ट नुडल्समा भएका प्रिजर्भेटिभ्स र सोडियमले महिलाहरूको हर्मोन सन्तुलनमा नराम्रो असर पार्न सक्छ ।
जसकारण महिनावारी र पीसीओएसको समस्या बढ्न सक्छ । अधिक सोडियम र अस्वस्थ बोसोले महिनावारीमा पीडा, अनियमितता र पीसीओएस जस्ता समस्याहरू बढाउन सक्छ । साथै, गर्भवती महिलाहरूले इन्स्टेन्ट नुडल्स सेवन गर्नु अझै बढी घातक हुन सक्छ । किनभने यसमा भएका रसायन र प्रिजर्भेटिभ्सले भ्रूणको विकासमा असर पुर्याउन सक्छ ।
Facebook Comment
Comment