सट्टाबाजीमा संलग्न २३ जना सार्वजनिक, तीन अर्बको जुवा खेलाएको खुलासा

नेपालभ्युज

सट्टाबाजीमा संलग्न २३ जना सार्वजनिक, तीन अर्बको जुवा खेलाएको खुलासा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले सट्टाबाजीमा संलग्न २३ भारतीय नागरिकलाई मङ्गलबार सार्वजनिक गरेको छ ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–३ गैरीगाउँस्थित दोर्जे शेर्पाका घरमा अनलाइन जुवा खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले रु ८१ हजार, ८८ थान मोबाइल, ल्यापटप, भारतीय सीम र आधार कार्ड, एटिएम, सिमकार्डलयायत कारोबारको हिसाब राखिएको नोटबुकसमेत बरामद गरेको थियो ।

पक्राउ गरिएकाहरूलाई सट्टेबाजी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले सो प्रकरणमा करिब तीन अर्बको अनलाइन जुवा खेलाएको हालसम्मको अनुसन्धानबाट खुलेको जानकारी दिए ।

उनले शान्ति सुरक्षा, अपराध अनुसन्धान, यातायात व्यवस्थापन र मानव बेचबिखन नियन्त्रणलगायतका विषयलाई उच्च प्राथमिकतामा राखेर सङ्गठनले काम गरिरहेको बताए ।

परिसरलाई विनियोजित बजेटको ८० प्रतिशतभन्दा बढी साधनस्रोत र जनशक्ति शान्ति सुव्यवस्थाका लागि खर्च भइरहेको जानकारी दिँदै अधिकारीले शान्ति सुरक्षा र न्यायिक कार्य सम्पादनलाई उच्च प्राथमिकतामा राखिएको बताए ।

“सेवा प्रवाहलाई सहज र गुणस्तरीय बनाउने प्रयास भइरहेको छ, राज्यले अघि सारेको विकास र खुसी प्राप्त गर्ने अभियानमा शान्ति सुरक्षा नै पहिलो शर्त हो भन्ने मान्यतालाई आत्मसात गरेका छौँ”, वरिष्ठ प्रहरी उपरीक्षक अधिकारीले भने ।

परिसर मातहत करिब चार हजार जनशक्ति रहेका र सो जनशक्तिले एक हजार एक सयभन्दा बढी विषयमा नागरिकलाई सहयोग पुर्‍याइरहेको उनले जानकारी दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved