रियल म्याड्रिडका लागि एमबाप्पेको पहिलो ह्याट्रिक

शीर्ष स्थानमा चार अङ्कको अग्रता

नेपालभ्युज

रियल म्याड्रिडका लागि एमबाप्पेको पहिलो ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल म्याड्रिडले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडमाथि चार अङ्कको अग्रता लिएको छ ।

शनिबार राति रियल भालाडोलिडमाथि केलियन एमबाप्पेको ह्याट्रिकको मद्दतमा जित हासिल गरेपछि रियल म्याड्रिडले शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको हो । यसै सिजन रियल म्याड्रिड आएका एमबाप्पेको यो क्लबका लागि पहिलो ह्याट्रिक हो ।

रियल म्याड्रिडले घरेलु टोली भालाडोलिडलाई ३–० गोलअन्तरले हराएपछि उपाधि दौड पनि बलियो बनेको छ ।

शनिबार राति साविक विजेता रियल म्याड्रिडले भालाडोलिडमाथि सहज जित निकाल्ने क्रममा एमबाप्पेले खेलको ३०औँ मिनेटमा नै गोलको खाता खोलेका थिए । फेरि ५७औँ मिनेटमा गोल गर्दै उनले अग्रता दोब्बर बनाए ।

खेलको ९०औँ मिनेटमा मारियो मार्टिनले रातो कार्ड खाएपछि भालाडोलिड १० खेलाडीमा सीमित भएको थियो ।

यसपछि खेलको अन्त्यतिर रियलले पेनाल्टी पायो । त्यसको सदुपयोग गर्दै एमबाप्पले ह्याट्रिक पूरा गर्दै रियल म्याड्रिडलाई ३–० को जित दिलाए ।

यस जितसँगै शीर्ष स्थानको रियल म्याड्रिडले २१ खेलबाट ४९ अङ्क बनाएको छ ।

दोस्रो स्थानको एट्लेटिकोको समान खेलबाट ४५ अङ्क छ ।

यस्तै तेस्रो स्थानको बार्सिलोना र चौथो स्थानमा रहेको एथ्लेटिक क्लब बिल्बाओले समान ३९ अङ्क बनाएका छन् । दुवैले २० खेल खेलेका छन् । गोलअन्तरमा आधारमा बार्सिलोना बिल्बाओभन्दा एक स्थान अघि छ ।

गत जुलाईमा पीएसजीबाट रियल म्याड्रिड आएका फ्रेन्च स्टार एमबाप्पले हालसम्म १९ खेलबाट १५ गोल गरेका छन् । यस क्रममा उनले यूईएफए सुपर कप र फिफा इन्टरकन्टिनेन्टल कप जितिसकेका छन् । यद्यपि उनले अपेक्षाअनुरुप प्रदर्शन भने गर्न सकिरहेका छैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved