सिमेन्टको मूल्यवृद्धिप्रति सांसदहरू असन्तुष्ट, उठाए यस्ता प्रश्न

नेपालभ्युज

सिमेन्टको मूल्यवृद्धिप्रति सांसदहरू असन्तुष्ट, उठाए यस्ता प्रश्न

काठमाडौं । सिमेन्टको मूल्यवृद्धि भएपछि सांसदहरूले सरकार र सिमेन्ट उद्योगीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधबार बसेको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले किन मूल्य बढाएको भन्दै उद्योगी र सरकारप्रति असन्तुष्टि व्यक्त गरे ।

सिमेन्ट उद्योगी, निर्माण व्यवसायीलाई राखेर मूल्यवृद्धिमाथि गरिएको छलफलमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सरकारनै विचौलिया रहेको आरोप लगाए ।

‘सरकार आफैँ विचौलियको सरकार हो । २० प्रतिशतभन्दा बढी मुनाफा लिन पाइने गरी अध्यादेश ल्याएको छ । अनि मूल्य नबढेर के गर्छ ?’, उनले प्रश्न गरे ।

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले ४०० पर्ने सिमेन्टलाई ८०० बनाउनुपर्ने के सङ्कट आइलाग्यो भन्दै प्रश्न गरे । ‘अचानक के सङ्कट आइलाग्यो ४०० पर्ने सिमेन्टलाई ८०० बढाउने ?’ उनले प्रश्न गरे ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले फरक विचार राख्दै सिमेन्टको मूल्य ८०० मात्र किन १२०० बनाएको भए पनि चल्दोरहेछ भन्ने सरकारप्रति व्यङ्ग्य गरे । उनले मूल्यवृद्धिको नियमन नहुनु सरकारको कमजोरी भएको बताए ।

ढकालले सिमेन्ट उद्योगीलाई सार्वभौम संसद्लाई नढाँट्न पनि चेतावनी दिए । यसअघि सिमेन्ट उद्योगका प्रतिनिधिले १२ घण्टा लोडसेडिङ हुँदा मूल्य बढ्नुपरेको बताएका थिए ।

त्यसको खण्डन गर्दै सांसद ढकालले १२ घण्टा लोडसेडिङ नभएको, मात्र दैनिक बेलुका ४ र बिहान २ घण्टा मात्र लोडसेडिङ रहेको जानकारी गराए ।

‘१२ घण्टा लोडसेडिङ छैन । संसद्‌मा आएर झुट नबोल्नुस् । बेलुका ४ बिहान २ घण्टा मात्र छ’, उनले भने ।

सरकारी स्वामित्वको हेटौँडा र उदयपुर सिमेन्टको पनि किन मूल्यवृद्धि भएको भन्दै सरकारलाई उनले प्रश्न गरे । ‘हेटौँडा र उदयपुर सिमेन्टकै हो त ? यो त सरकारी हो । सेटिङवाल फन्दामा यी दुई कम्पनी परेको हो कि ?’, उनको प्रश्न थियो ।

प्रतिपक्षी दल माओवादी केन्द्र, रास्वपामात्र होइन, सत्तारुढ दलकै सांसदहरूले सिमेन्टको मूल्यवृद्धिप्रति प्रश्न उठाउँदै छिटो मूल्य घटाउन सरकारसँग माग गरेका छन् ।

एमाले सांसद ज्वालाकुमारी साहले अहिले मूल्यवृद्धि गरिनु उचित नभएको बताइन् । ‘३ महिनाअघि जुन मूल्य थियो त्यहीँ कायम हुनुपर्छ भन्ने हो । सामान्य जनताको नजरबाट हामीले सोच्नुपर्छ कि भन्ने मलाई लाग्छ’, उनले भनिन् ।

एमालेका अर्का सांसद तारा लामा तामाङले कसैलाई पनि मार नपर्ने गरी मूल्य निर्धारण हुनुपर्ने बताए । ‘पीपीसी ३६५ बाट ६७० भयो । ओपीसी ४६५ बाट ७५० भयो भन्छन् । डण्डी पनि बढेको छ । यसरी भएन’, उनले भने ‘उद्योगी, व्यवसायी र जनतालाई बचाउने गरी काम गरौँ ।’

काङ्ग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले मूल्यवृद्धिप्रति चर्को आलोचना गरे । उनले उद्योगी न निर्माण व्यवसायी कसैको कुरा नसुनेको तर, जनताको कुरा सुनेर साँच्चिकै मूल्यवृद्धि भएको र त्यसलाई नियन्त्रण गर्नुपर्ने माग गरे ।

‘मैले कसैको कुरा सुनेको छैन । गाउँमा घर बनाउनेहरूले भनेको सुनेको हुँ । पहिले ४०० पर्ने सिमेन्ट ८०० पुग्यो रे’, उनले भने, ‘एउटा नागरिकले विदेशको ४५ डिग्रीमा काम गरेर यहाँ घर बनाउँदै छ । अनि ४०० पर्ने सिमेन्ट ८०० पुग्यो भने त्यसलाई कति मार परेको होला । यो छिटो विचार गर्नुपर्ने भयो ।’

उनले जथाभावी मूल्य बढाउन नपाइने बताए ।

यस्तै काङ्ग्रेसकै सांसद दीपक गिरी, राजेन्द्रकुमार केसीलगायतले पनि मूल्यवृद्धिको विरोध गरे । उनीहरूले उद्योगी, निर्माण व्यवसायी, नागरिक कसैलाई पनि मार नपर्ने गरी मूल्य समायोजन गर्न आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved