काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा हुने भएको छ ।
काठमाडौं जिल्ला अदालतका ६ नम्बर वरीयताका न्यायाधीश अधिकारीको इजलासमा उनको बयान र थुनछेक हुने अदालत स्रोतले जनाएको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलन गरेको कसुरमा अभियोग पत्र दायर भएपछि लामिछाने आज (आइतबार) आफैँ अदालतमा हाजिर भएका हुन् ।
पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछाने आज बिहान ९ बजेपछि अदालतमा उपस्थित भएका हुन् ।
सहकारी ठगीको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका लामिछाने बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
उक्त मुद्दामा लामिछानेसँगै ६ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् । लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ र आरती गुरुङले धरौटी रकम बुझाएर रिहा भएका थिए ।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरुङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई पाँच लाख र कृष्णबहादुर गुरुङलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
अदालतमा १० दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो ।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।
रवि फेरि पक्राउ पर्लान् ? कसरी बढ्नेछ अबको प्रक्रिया ?
Facebook Comment
Comment