महालक्ष्मी एल्मुनाई एशोसिएसनको छैटौँ वार्षिक साधारणसभा, श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

नेपालभ्युज

महालक्ष्मी एल्मुनाई एशोसिएसनको छैटौँ वार्षिक साधारणसभा, श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति

७७ वर्षे इतिहास बोकेको लुभुस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा अध्ययनरत पूर्वविद्यार्थीको संस्था महालक्ष्मी एल्मुनाई एशोसिएसनको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले पुनः दीपककुमार श्रेष्ठको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा प्रल्हाद विष्ट, सचिवमा इन्द्रभक्त मास्के, सहसचिवमा प्रकाश खत्री, कोषाध्यक्षमा रिता श्रेष्ठ, तथा सदस्यहरूमा इन्द्रकमल श्रेष्ठ, पुष्पराज श्रेष्ठ, सुरेश बस्नेत, मदन गौतम, सविता श्रेष्ठ र कृष्णगोपाल श्रेष्ठ चयन भएका छन् ।

 यसअघि सभाले अध्यक्ष श्रेष्ठले पेश गरेको वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्ययोजना तथा कोषाध्यक्ष रिता श्रेष्ठले पेश गरेको आव २०८०-०८१ को आयव्यय विवरण पारित गरेको थियो । 

लुभुमा २००४ सालमा स्थापना भएको र २०२४ देखि एसएलसी दिन प्रारम्भ गरेको श्री महालक्ष्मी माध्यमिक विद्यालयमा छ वर्षअघि यो एशोसिएसन गठन गरिएको थियो । यसमा हाल १५० आजीवन र २३५ साधारण सदस्य छन् । 

पूर्वप्रधानाध्यापक निलप्रसाद दुलाल प्रमुख अतिथि रहेको सभामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर श्रेष्ठले एशोसिएसनसँग हातेमालो गर्दै अघि बढनुपर्ने बताए । सो अवसरमा प्रमुख अतिथि दुलालले विभिन्न कक्षाका विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेका थिए । 

कक्षा १२ मा विद्यालयबाट सर्वोत्कृष्ट हुने सतीदेवी श्रेष्ठले १० हजार राशीको रामभक्त ठुलनानी पुरस्कार पाइन । यस्तै कक्षा ११ र १२ मा अध्ययनरत छात्राद्वय सरिस्मा केसी र मन्दीना आलेले प्रल्हाद विष्टद्वारा स्थापित छात्रवृत्ति प्राप्त गरे । कक्षा ७ का ज्ञानी सुनारले श्री भक्तबस्नेत द्वारा प्रदान गरिने छात्रवृत्ति, एसइइमा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रा राघिणी पालले रिपु इन्द्र शैक्षिक छात्रवृत्ति पुरस्कार पाएकी थिइन । 

विद्यालयबाट एसइइ दिएर कक्षा ११ मा अध्ययनरत सुजन विकले मरिचलाल चन्द्रमाया छात्रवृत्ति प्राप्त गरे । कार्यक्रममा १० हजार राशीको बहिदार रामबहादुर श्रेष्ठ पुरस्कार विद्यालयका सामाजिक शिक्षक प्रमिला श्रेष्ठ र कृष्णलाल हिरादेवी उत्कृष्ट प्रोत्साहन पुरस्कार शिक्षक मेदनाथ सापकोटालाई प्रदान गरिएको थियो । 

यसैगरी नयाँ पुरस्कार कोष स्थापना गर्ने डा. राजकुमार थापा र रूपचन केसीलाई सम्मान गरिएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष स्व. हरिरमण थापाको स्मृतिमा अर्को पुरस्कार कोष स्थापना गरिएको पनि जानकारी दिइयो । यस्तै विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न १४ विद्यार्थीलाई ड्रेस पनि प्रदान गरिएको थियो ।

एशोसिएसनका अध्यक्ष दीपककुमार श्रेष्ठले प्रगति विवरण पेश गर्दै विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि व्यवस्थापन समिति र प्रशासनलाई हरसम्भव सहयोग गरिरहेको र आगामी दिनमा पनि गरिरहने बताए । 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved