जनकपुरधाम । सत्तारुढ दल नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले देश अहिले राजनीतिक स्थायित्वको यात्रामा अगाडि बढेको बताएका छन् ।
महोत्तरीको रामगोपालपुरमा आयोजना शनिबार गरिएको बृहत् पार्टी प्रवेश तथा जनसभा कार्यक्रममा उनले नेपाली कांग्रेस र एमाले मिलेर नेपाललाई राजनीतिक स्थायित्वमा लैजान गरेको सङ्कल्पकै आधारमा देश अघि बढिरहेको बताए ।
महासचिव पोखरेलले विकास र समृद्धिको यात्रामा समेत देश अघि बढेको दाबी गरे ।
एमाले नेतृत्वमा बनेको सरकारका कारणले अहिले देशमा धेरै सुधार भएको बताउँदै उनले लगानीको क्षेत्रमा दक्षिण एसियामा भारतपछि नेपालको अवस्था सुधारोन्मुख रहेको दाबी गरे । उनले भने, ’राजस्व बढेको छ । पूर्जी खर्चको बढेको छ । विदेशी मुद्राको सञ्चिति बढेको छ ।’
छोटो समयमै एमालेले नेतृत्व गरिरहेको सरकारको कामले नेपाली जनतामा आशा जगाएको बताउँदै महासचिव पोखरेलले केही तत्वले सो आशालाई निराशामा बदल्निे गरी षडयन्त्र गरिरहेको आरोप लगाए ।
उनले मधेशमा हुलाकी सडक आयोजना र सुनकोशी मरिन डाइभर्सनको काममा तीव्रता लगायतका कामहरू केपी शर्मा ओली नेतृत्वको सरकारको श्रेय भएको बताउँदै विकास र राष्ट्रियताको पक्षमा एमाले मात्र रहेको बताए ।
छिमेकीसँग आँखामा आँखा जुधाएर देश र जनताको हितमा काम गर्ने एमाले नेतृत्वको सरकार मात्र भएको दाबी गर्दै उनले आउँदो निर्वाचनमा एमालेलाई सहयोग गर्न आग्रह गरे । उनले कुन छिमेकी भनेर नाम भने लिएनन् ।
एमालेका जिल्ला अध्यक्ष बलराम यादवको अध्यक्षतामा भएको पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो, मधेश प्रदेशको भौतिक विकास मन्त्रालयका मन्त्री सरोजकुमार यादव, एमालेका नेता रामदयाल मण्डल लगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए ।
Facebook Comment
Comment