काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ ।
यो विमानमा १८१ जना सवार थिए । जसमा १७५ यात्रु र ६ जना चालक दलका सदस्य थिए ।
दक्षिण कोरियाको दमकल विभागका अनुसार यस दुर्घटनामा कम्तीमा ४७ जनाको मृत्यु भएको छ ।
यो जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।
दमकल विभागका अधिकारीहरूले समाचार एजेन्सी रोयटर्सलाई दिएको जानकारीअनुसार दुई जना जीवितै फेला परेका छन् र उनीहरूलाई उद्धार गरिएको छ । उद्धार कार्य अझै जारी छ ।
विमानको पछाडिको भागबाट यात्रुलाई बचाउने काम भइरहेको विमानस्थल अधिकारीहरूले बताएका छन् ।
समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुईजना थाइल्याण्डका थिए ।
दमकल विभागले जारी गरेको विज्ञप्तिमा एक यात्रु र एकजना चालक दलका सदस्यलाई बचाइएको बताइएको छ । ३२ दमकल र ८० कर्मचारी घटनास्थलमा पठाइएको विभागले जनाएको छ ।
Facebook Comment
Comment