काठमाडौं । सीबी गहतराज नेतृत्वको राष्ट्रिय ख्रीष्टमस महासङ्घ नेपालद्वारा आयोजित क्रिसमस महोत्सव २०८१ बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ । महोत्सवका अवसरमा विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरूबीच शुभकामना आदानप्रदान गरिएको थियो ।
सो शुभकामना आदानप्रदानमा बोल्दै नेकपा (माओवादी केन्द्र)का नेता एवं मधेस प्रदेशका पूर्वगृहमन्त्री भरतप्रसाद शाहले हाम्रो देश सबै नागरिक, भाषाभाषी र धर्मको साझा देश भएको बताए ।

ख्रीष्टको जन्मदिन अर्थात क्रिसमस दिवसलाई प्रेम सद्भाव र एकताका रुपमा लिइँदै आएको सांसद इन्दु शर्माको भनाइ थियो । महासङ्घका अध्यक्ष गहतराजले ख्रीष्टमस दिवस माया, प्रेम गर्ने, उपहार दिने दिवस भएको बताए ।
इसाई धर्मका प्रवर्तक येशू ख्रीष्टको शुभजन्मोत्सवको अवसरमा बुधबार (डिसेम्बर २५मा) उक्त कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
क्रिसमस पर्वको अवसरमा काठमाडौंको ठमेलमा बुधबार साँझ निकै चहलपहल देखिएको थियो । उक्त ठाउँ बत्तीले झिलिमिली बनाइएको थियो । –रासस
Facebook Comment
Comment