काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकनका पूर्वसांसद म्याट गेट्समाथि आफ्नो कार्यकालमा यौन र लागुऔषधमा हजारौँ डलर खर्च गरेको आरोप लागेको छ ।
अमेरिकी प्रतिनिधि सभाको आचार समितिको प्रतिवेदनमा गेट्सविरुद्ध यी आरोप लगाइएको हो ।
बीबीसीकाअनुसार अवैध लागुऔषधसहित म्याट गेट्सविरुद्ध अन्य आरोपमा पनि अनुसन्धान गरिएको छ ।
गेट्स तिनै व्यक्ति हुन्, जसलाई नवनिर्वाचित राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ताको रूपमा मनोनयन गरेका थिए । तर, विवादित भएपछि उनले महान्यायाधिवक्ता मनोनयनबाट आफ्नो नाम फिर्ता लिएका थिए ।
आचार समितिले ४२ वर्षीय गेट्सले २०१८ बहामास भ्रमणका क्रममा अनुमति दिइएको सीमाभन्दा बढी उपहार लिएको प्रमाण पनि फेला पारेको छ ।
तर, गेट्सले आफूलाई लागेका आरोप सधैँ अस्वीकार गर्ने गरेका छन् ।
अमेरिकी कंग्रेसको इथिक्स रिपोर्टले भनेको छ, ‘गेट्सले वेश्यावृत्ति, नाबालिगहरूसँग यौन सम्बन्ध, अवैध लागुपदार्थको प्रयोग र उपहार स्वीकार गरेर सदनका नियम र आचरणका मापदण्ड उल्लंघन गरेका ठोस प्रमाण छन् ।’
रिपोर्टमा उनले २०१७-२०२० को बीचमा १२ महिलालाई ९० हजार डलरभन्दा बढी भुक्तानी गरेको उल्लेख छ ।
Facebook Comment
Comment