कञ्चनपुर। सिमसार क्षेत्रमा पाइने सारस चराको संख्या कञ्चनपुरमा विगतको तुलनामा घट्दै जान थालेको छ। सिमसार क्षेत्र घट्दै गएपछि यो चरा घट्न थालेको हो। एकै ठाउँमा बस्न रुचाउने रैथाने प्रजातिको सारस सालैपिच्छे घट्नुमा बासस्थान विनाश मुख्य कारण हो।
“सिमसार मासेर स्थानीयले खेती गर्न थालेपछि सारस घट्न थालेको छ”, नेपाल पक्षी संरक्षण संघका चरा विज्ञ हिरुलाल डगौराले भने, “सिमसार घट्न थालेपछि आहारको कमी भएको छ। सिकार गर्ने र कृषिमा विषादीको अन्धाधुन्ध प्रयोगले यो चरालाई समस्या भएको छ।”
यसको आहारा माछा, भ्यागुता, सर्प र अन्य कीराको कमीसँगै सारस विगतको तुलनामा आधा घटेको उनको भनाइ छ। भर्खरै सकिएको जलपक्षी गणनामा बेलडाँडी गाउँपालिकाको चवन्नीमा दुई र सोही गाउँपालिकाको अर्को सिमसार क्षेत्रमा आठ सारस देखा परेका छन्। स्थानीयका अनुसार पहिला सारस एकै ठाउँमा १५ देखि २० को संख्यामा देखिन्थे।
अण्डा र मासुलाई यसको सिकार हुन्छ। दुई वर्ष पहिले बेलडाँडी क्षेत्रमै संरक्षणकर्मीले एउटा मरेको र अर्को घाइते फेला पारे। वर्षातमा सारस स्थानीय किसानका खेतबारीमा आउँदा सिकार बढी हुन्छ।
सारस घटेकाले यसलाई जोगाउन सिमसार क्षेत्र जोगाउन र यसलाई मार्नु हुँदैन, संरक्षण गर्नुपर्छ भन्ने जागरण पैदा गर्न सचेतनामूलक कार्यक्रम आवश्यक भएको सरोकारवालाको भनाइ छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले सारसलाई संरक्षित पंक्षीको सूचीमा राखेको छ। साइटिसले अनुसूची २ र आइयुसीएनले रातो किताबमा संवेदनशील सूचीमा राखेको छ। यसको सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुन्छ। सारसको उचाइ छ फिटसम्म र तौल पाँच किलो बढी हुन्छ। यसको वैज्ञानिक नाम ‘ग्रस एन्टिगनु’ हो। उडनेमध्येमा यो अग्लो चरा मानिन्छ।
सारसले किसानले धानबाली लगाइसकेपछि अर्थात जुन, जुलाई महीनामा ओथारो बस्ने (बच्चा कोर्लने) गर्दछ। सिमसार क्षेत्रको सुरक्षित स्थानमा बच्चा जन्माउने र हुर्काउने गर्दछ। सारसलाई सामाजिक प्राणीका रूपमा समेत लिइने गरिन्छ।
जोडीका रूपमा यो चरा रहन्छ। प्रजनन अवधिमा यसले दुई ओटा मात्रै अण्डा पार्ने गरेको चराविज्ञ डगौराले बताए। चल्ला पाँचदेखि छ महीनासम्म माउसँगै बस्छन्। त्यसपछि अन्य सारससँगै झुण्डमा आजीवन जोडी बनाइ बस्छन। रूपन्देही, कपिलबस्तु, बाँके, दाङ, चितवन र कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कालीकिच ताल र निकुञ्जकै मध्यवर्ती क्षेत्र बेलडाँडीमा यो चरा पाइन्छ।
कञ्चनपुरमा सारसको संख्या १० देखि १५ सम्म रहेको अनुमान छ। चराविज्ञका अनुसार नेपालमा यो चरा सातदेखि आठ सय रहेको अनुमान छ। नेपालसँगै सारस अस्ट्रेलिया, क्यााम्बोडिया, चीन, भारत, लाओस, म्यानमार, पाकिस्तान र भियतनाममा पाइन्छ।
विश्वमा १५ र नेपालमा चार प्रजातिका सारस पाइन्छ। जसमा करयाङकुरुङ, लक्ष्मण, कालीकण्ठ र सारस नामकै सारस पाइने गरेको छ। दुई दशकपछि यसवर्ष कैलालीमा लक्ष्मण सारस देखा परेको छ। जसलाई खोया हाँससमेत भनिन्छ।
लक्ष्मण सारस मङ्गोलिया र चीन क्षेत्रबाट हिउँदाका बेला बसाइँ सारेर यहाँ आइपुग्छ। कालोकण्ठे सारस कहिलेकाहीँ मात्रै देखा पर्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सारसलगायतका दुर्लभ पक्षी मार्नेलाई १५ देखि ३० हजार जरिवाना वा तीन महीनादेखि नौ महीना कैद वा दुवै सजाय हुने कानूनी प्रावधान छ।
Facebook Comment
Comment