युक्रेनमा उत्तर कोरियाको संलग्नता द्वन्द्वको ‘खतरनाक विस्तार’ हो : अमेरिका

नेपालभ्युज

युक्रेनमा उत्तर कोरियाको संलग्नता द्वन्द्वको ‘खतरनाक विस्तार’ हो : अमेरिका

वासिङ्टन । दश देश र युरोपेली सङ्घ (इयु) ले सोमबार संयुक्त राज्य अमेरिकाले जारी गरेको संयुक्त वक्तव्यमा युक्रेनमा रुसको युद्धमा उत्तर कोरियाको बढ्दो संलग्नतालाई ‘खतरनाक विस्तार’ भनेका छन् ।

प्योङयाङले रुसको युद्ध प्रयासलाई बलियो बनाउन हजारौँ सेना पठाएको छ । तीमध्ये कुर्स्क सीमा क्षेत्रमा युक्रेनले सोमबार आफ्ना लडाकुहरूबाट कम्तीमा ३० उत्तर कोरियाली सैनिक मारिएको वा घाइते भएको रिपोर्ट गरेको छ ।

“युक्रेन विरुद्धको रुसको आक्रामक युद्धलाई उत्तर कोरियाको प्रत्यक्ष समर्थनले द्वन्द्वको खतरनाक विस्तारलाई चिह्नित गर्दछ, यसले युरोपेली र इन्डो–प्यासिफिक सुरक्षाका लागि गम्भीर परिणामहरू निम्त्याउँछ”, वक्तव्यमा भनिएको छ ।

अस्ट्रेलिया, क्यानाडा, फ्रान्स, जर्मनी, इटाली, जापान, दक्षिण कोरिया, न्युजिल्यान्ड, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकाका विदेश मन्त्री र इयुका उच्च प्रतिनिधिले वक्तव्यमा हस्ताक्षर गरेका छन् ।

उनीहरूले रूसले उत्तर कोरियाको व्यापक विनाशका हतियारहरू समावेश गैरकानूनी हतियार कार्यक्रमहरूलाई राजनीतिक, सैन्य वा आर्थिक सहयोग प्रदान गर्नसक्ने सम्भावनाप्रति ‘गहिरो चिन्ता’ व्यक्त गरेको बताएका छन् ।

सन् २०२२ फेब्रुअरीमा मस्कोको युक्रेन आक्रमणपछि उत्तर कोरिया र रूसले आफ्ना सैन्य सम्बन्धहरू बलियो बनाएका छन् । विशेषज्ञहरूका अनुसार आणविक हतियार सम्पन्न उत्तर कोरियाका नेता किम जोङ उन मस्कोबाट उन्नत प्रविधि र आफ्ना सैनिकहरूका लागि युद्ध अनुभव प्राप्त गर्न उत्सुक छन् ।

वक्तव्यमा हस्ताक्षर गर्नेहरूले ‘युक्रेन विरुद्धको युद्धभूमिमा प्रयोग गर्नाका लागि रुसमा उत्तर कोरियाका सेनाहरू तैनाथ गर्ने’ सहित ‘बढ्दो सैन्य सहयोगको कडा शब्दहरूमा निन्दा’ गरेको बताएका छन् ।

“प्योङयाङद्वारा रुसलाई ब्यालिस्टिक क्षेप्यास्त्र, तोप र अन्य सैन्य सामग्रीको निर्यातका साथै उत्तर कोरियाली सैनिकहरूलाई हतियारसहितको मस्कोको प्रशिक्षणले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावको स्पष्ट उल्लङ्घनको प्रतिनिधित्व गर्दछ”, उनीहरूले वक्तव्यमा भनेका छन्, “हामी उत्तर कोरियालाई युक्रेन विरुद्धको रुसको आक्रामक युद्धका लागि आफ्ना सेना फिर्ता गर्नेसहित सबै सहयोग तुरुन्तै बन्द गर्न आग्रह गर्दछौँ ।”

अमेरिका र दक्षिण कोरियाले उत्तर कोरियाले १० हजारभन्दा बढी सैनिक पठाएको आरोप लगाएका छन् ।
एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved