चीनबाट फर्किएलगत्तै भारत भ्रमणको तयारीमा जुटे प्रधानमन्त्री ओली

भारतबाट निमन्त्रणा नआएको कारणले ओली चीनको चार दिने औपचारिक भ्रमणमा निस्किएका थिए । उक्त भ्रमणबाट २० मंसिरमा स्वदेश फर्केलगत्तै उनले भारत भ्रमणको संकेत दिएका थिए ।

नेपालभ्युज

चीनबाट फर्किएलगत्तै भारत भ्रमणको तयारीमा जुटे प्रधानमन्त्री ओली

काठमाडौं । चीन भ्रमणबाट हालै स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा जुटेका छन् । परराष्ट्र स्रोतका अनुसार प्रधानमन्त्री पुसभित्रै भ्रमणको तयारीमा जुटे पनि भारतीय पक्षको ग्रीन सिग्नल कुरिरहेका छन् ।

यसअघि भारतले निमन्त्रणा नदिएपछि प्रधानमन्त्री ओलीले चीनलाई प्राथमिकता दिएका थिए । अब भने ओलीनिकट नेताहरु भारतलाई मनाउन कसरत गरिरहेका बताइन्छ ।

यदि भारतबाट निमन्त्रणा आएको भए, उनी पहिलो भ्रमण भारतमै गर्ने तयारीमा थिए ।

तर, निमन्त्रणा नआएको कारणले उनी चीनको चार दिने औपचारिक भ्रमणमा निस्किएका थिए । उक्त भ्रमणबाट २० मंसिरमा स्वदेश फर्केलगत्तै उनले भारत भ्रमणको संकेत दिएका थिए ।

भारतलाई मनाउन ओलीको तयारी

प्रधानमन्त्रीको भ्रमण तयारीलाई सहज बनाउन परराष्ट्रमन्त्री डा. आरजु राणा (देउवा) पुस ४ गते दिल्ली जाने तयारीमा छन् ।

हाल युरोप भ्रमणमा रहेकी राणा त्यहीँबाट भारत जानेछिन् । दिल्लीमा आयोजना हुने इन्डो–नेपाल इकोनोमिक कन्फरेन्सका क्रममा उनी भारतीय विदेशमन्त्री एस. जयशंकरलगायत उच्च अधिकारीहरूसँग छलफल गर्नेछिन् ।

मुख्य एजेन्डा भने प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी नै रहने बताइएको छ ।

स्रोतले भन्यो, ‘दिल्लीमा इन्डो–नेपाल इकोनोमिक कन्फरेन्समा भारतीय विदेशमन्त्रीसँग उच्चस्तरीय भेटघाट गर्ने र प्रधानमन्त्री ओलीको भारत भ्रमणको विषयमा छलफल गर्ने कुरो छ ।’

यसअघि परराष्ट्रमन्त्री राणा गत भदौमा भारत भ्रमणमा गएकी थिइन् ।  प्रधानमन्त्री मोदीसँग भएको आधा घण्टाको भेटले दुई देशबीचको सम्बन्धलाई महत्व दिएको संकेत गरे पनि त्यसबेला प्रधानमन्त्री ओलीलाई निमन्त्रणा दिइएको थिएन  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved