पत्रकार महासंघका विपक्षी गठबन्धनका उम्मेदवारलाई सत्तापक्षले निगरानी गरेको आरोप

नेपालभ्युज

पत्रकार महासंघका विपक्षी गठबन्धनका उम्मेदवारलाई सत्तापक्षले निगरानी गरेको आरोप

काठमाडौं ।  नेपाल पत्रकार महासंघको निर्वाचनका क्रममा सरकारले विरोधी खेमाका उम्मेदवारलाई सरकारले निगरानी गरेको आरोप लगाइएको छ ।

प्रेस सेन्टर नेपाल, समाजवादी प्रेस संगठनसहित सात वाम पत्रकार संगठनद्वारा जारी संयुक्त विज्ञप्तिमा उक्त कुरा उल्लेख छ ।

अध्यक्षका उम्मेदवार रमेश विष्टका गतिविधिको निगरानी राख्न उनका पछाडि केही सादा पोशाकका सुरक्षाकर्मी खटाइएको आरोप विज्ञप्तिमा लगाइएको छ ।

महासंघको निर्वाचनमा कांग्रेस निकट प्रेस युनियन र एमाले निकट प्रेस चौतारीबीच गठबन्धन भएको छ । जसअनुसार अध्यक्षको उम्मेदवार युनियन र चौतारीबाट निर्मला शर्मा छिन् ।

उता युनियनबाट बागी उम्मेदवार रमेश विष्ट छन् । उनलाई युनियनले कारबाही गरेको छ ।

उनलाई धम्की आएको विपक्षी गठबन्धनका नेताद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘खुल्ला रुपमा धम्क्याउने, सरकारका मन्त्री र सत्तारुढ पार्टी नेताहरूले डर, धाक र प्रलोभन दिने जस्ता कार्य गरिरहेको छ ।’

‘स्वतन्त्र ढङ्गले चुनावमा भाग लिन पाउने पत्रकारको अधिकारमाथि नै हस्तक्षेप गर्नेजस्ता व्यवहार गरिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ, ‘हामी पत्रकारको चुनावमा सत्तापक्षवाट भएको यसप्रकारको नाङ्गो हस्तक्षेप र मानसिक रुपमा दबाब सिर्जना गर्ने कार्यको घोर विरोध र भर्त्सना गर्दै स्वतन्त्र ढङ्गले निर्वाचन प्रक्रियामा सहभागी हुने वातावरण सुनिश्चित गर्न माग गर्दछौँ ।’

वक्तव्यमा प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा ‘जुगल’, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी प्रेस सङ्गठनका अध्यक्ष नारायण शर्मा, प्रगतिशील पत्रकार संघका महासचिव प्रकाश थापा, जनपत्रकार सङ्गठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा, प्रेस मञ्चका महासचिव अवधेश झा र क्रान्तिकारी पत्रकार सङ्गठनका अध्यक्ष कमल बुढाले हस्ताक्षर गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved