काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई विश्वासमा लिएर सहमतिका साथ सरकारले नियमित प्रक्रियाबाट बजेट पारित गर्ने नीति लिएको छ।
यदि सहमति जुट्न नसके प्रक्रियाअनुसार पारित गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताए। जेठ १५ गते अघिल्लो सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक पारित भएको छैन। तर मंगलबार बसेको संसद् बैठकमा सभामुख सापकोटाले ४ असोज गतेसम्मका लागि स्थगित गरेका छन्।
प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभएपछि स्वतः निष्क्रिय हुनेछ। मंगलबारको प्रतिनिधिसभा बैठक स्थगित भएपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री शर्माले नियमित प्रक्रियाबाटै बजेट पारित गरेर अघि बढ्ने बताए। “कर उठाउने विशेष व्यवस्था छ। त्यसअनुसार कर उठाउन सकिन्छ, ५/७ दिन खर्च नहुन पनि सक्छ, रोक्नुपर्ने अवस्था आयो भने रोकिन पनि सक्छ”, उनले भने।
यस अवधिमा निकासा भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकास माग गर्ने र निकास गर्ने अधिकारी नै जिम्मेवार हुने व्यहोरासमेत महालेखाले जानकारी गराइसकेको छ।
यसै कारण पेश्की खर्च पनि नगर्ने अर्थमन्त्री शर्माले बताए। “पेश्की खर्च हुँदैन, अध्यादेश पनि आउँदैन, विधेयक पास भएपछि नियमित प्रक्रियाबाटै खर्च हुन्छ”, उनले भने।
Facebook Comment
Comment