काठमाडौं। कोरोना महामारी बढेसँगै नेपालमा मास्कको आयात बढेको छ। चालू आर्थिक वर्षको पहिलो ६ महीनामा नेपालमा विभिन्न देशबाट ९५ करोड ५७ लाख ११ हजार रुपैयाँ बराबरको मास्क आयात भएको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा चीन, कोरिया, भारत, हङकङ, इन्डोनोशिया, अमेरिका, बेलायत, नामिबिया, भियतनामलगायतका देशबाट मास्क आयात भएको छ।
यसैगरी यो अवधिमा २२ करोड ५ सय ५० रुपैयाँको सर्जिकल फेसशिल्ड आयात भएको छ। गत आर्थिक वर्षभरिमा नेपालमा विभिन्न देशबाट २ अर्ब ५७ करोड ६५ लाख ३९ हजार रुपैयाँ बराबरको फेस मास्क मात्रै आयात भएको तथ्यांक छ। उक्त आर्थिक वर्षमा ४५ करोड ११ लाख ९९ हजार बराबरको फेसशिल्ड आयात भएको थियो।
नेपालमा अहिले प्रयोगमा आइरहेका मास्कमध्ये ४० प्रतिशतले पुनः प्रयोग गर्न मिल्ने कपडाको मास्क र बाँकी ६० प्रतिशत सर्जिकल मास्कको प्रयोग भइरहेको विभिन्न अध्ययनले देखाएका छन्।
Facebook Comment
Comment