एमालेको जागरणसभामा जे देखियो…

नेपालभ्युज

एमालेको जागरणसभामा जे देखियो…

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजना गरेको जागरणसभामा पार्टीका कार्यकर्ताको मुहारमा उत्साह र जोश देखिन्थ्यो ।

पार्टीका नेता तथा कार्यकर्ताले एउटा हातमा नेपालको झण्डा, अर्को हातमा एमाले पार्टीको झण्डा लिएर बेलाबेला उत्साहित भएर फहराइरहेको दृश्य देखिन्थ्यो । त्यही सभामा एउटा ठूलो बोराभरि भुटेको मकै थियो । सभामा उपस्थित नेता, कार्यकताले पालैपालो निकाल्दै एक–एक मुठ्ठी खाँदै थिए ।

एमालेनिकट राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका कलाकारले बीचबीचमा सभालाई उत्साह भर्न गीत गाएपछि झन् उत्साहित भएर झण्डाहरू फहराउँदै नाचेको दृश्य देखिन्थ्यो ।

राष्ट्रिय जनसांस्कृति महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले लेखेको गीतलाई कलाकार अमृत खातीले गाएका थिए । गीतमा भनिएको थियो, ‘लागौँ सबै विकासको बाटोमा, मोती फल्छ नेपाली माटोमा ।’ कलाकार खातीकै स्वरमा अर्को गीत ‘अँध्यारोमा बलेको टुकी, एमाले जनताको ढुकढुकी ।’

अर्का कलाकार भीमसेन खतिवडाको स्वरमा प्रस्तुत भएको गीतका  शब्दहरूमा यस्तो थियो, ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्यो जुटौँ साथी हो ।’ त्यस्तै कलाकार खतिवडाको स्वरमा अर्को गीत ‘राम्रो नि नेकपा (एमाले) लाल सूर्य झलल्, जनता ताती लौ एमालेमाथि मिसियो सलल् ।’

कलाकार रामप्रसाद अवस्थीको स्वरमा सुनिएको थियो, ‘लिपुलेक, लिम्पियाधुरा, कालापानी फिर्ता ल्याउनुछ, भन्नुहुन्छ बाबा र आमाले देश बनाउने पार्टी हो एमाले ।’ अर्का कलाकार वैकुण्ठ महतको स्वरमा घन्किएको थियो, ‘हाम्रो नेपाल, हाम्रै एमाले’ जनसांस्कृति महासङ्घका कलाकारहरूले पालोपालो सभालाई मनोरञ्जन तथा उत्साह भरेका थिए ।

कलाकारसँगसँगै सभाका उपस्थित सबै नेता तथा कार्यकर्ताले झण्डा फहराउँदै एकै स्वरमा गाउँदै थिए, ‘पूर्वको माया पश्चिमलाई, पश्चिमको माया पूर्वलाई…’ यस्तैयस्तै धेरै गीत कलाकारले गाएका थिए । जसले जागरणसभालाई थप ऊर्जा दिएको थियो ।

सभामा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली उपस्थित भएपछि निकैबेर नेपालको र एमाले पार्टीको झण्डा फहराएर पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए । उनले सभालाई सम्बोधन गर्न थालेपछि सहभागीहरूको मुहारमा छुट्टै चमक देखिन्थ्यो ।

“समाजमा अराजकता मच्चाउने, सामाजिक सद्भाव र विद्वेष फैलाउने काम भइरहेको छ, तपाईँहरू भ्रममा नपर्नुस्”, सभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भने, “यो सरकार मुलुकमा सुशासन, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम गर्न बनेको हो ।”

राष्ट्रिय सद्भाव कायम गर्ने र समाजमा फैलिएको नकारात्मक दृष्टिकोणलाई सकारात्मक दिशातर्फ लैजाने उद्देश्यले आज जागरणसभा आयोजना गरेको भए पनि नेता तथा कार्यकर्ताले आउँदो मंसिर १६ को उपचुनावलाई पनि पार्टीको विजयका लागि मतदात गर्न आग्रह गरिरहेका थिए ।

नेकपा (एमाले)का महसचिव शङ्कर पोखरेलले सभालाई सम्बोधन गर्दै भने, “एमाले जनताको ह्दयमा छ, राष्ट्रको ह्दयमा छ, आउँदो उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई विजयी गराउनुस् ।”

जागरणसभाको नेतृत्व नेकपा (एमाले) बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले गरेका थिए । उक्त सभाको र्‍याली भद्रकालीबाट सुरु भएको थियो । र्‍यालीमा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौँः तथ्य र सत्यलाई आत्मसात् गरौँ’, ‘अराजकता सहिन्नः सहिष्णुता छोडिन्न’, ‘निराशा छोड्ने होः आशा र समृद्धि बाँड्ने हो’, ‘प्रतिगमन र पश्चगमन मानिदैनः प्रगतिशील र अग्रगमन छाडिदैन’, ‘देश बन्दैन नकरात्मकतालेःअघि बढौँ सकरात्मकताले’, ‘सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गरौँ’ भन्ने नारा गुञ्जिएको थियो ।

र्‍याली दरबारमार्गमा सभामा परिणत भएको थियो । सभामा उपस्थित सबै नेता कार्यकर्तालाई राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालका कलाकारले गीतमार्फत स्वागत गरेका थिए । देशभक्तिपूर्ण, देश विकास गर्ने, माटोको माया गर्नुका साथै राष्ट्रिय एकता कायम गर्ने गीतहरूले उपस्थित नेता, कार्यकर्तामा उत्साह भरेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved