शुक्रराजको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु

शास्त्रीलाई १९९७ माघ १० मा टेकु खरिबोटमा र धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा बकाइनाका रूखमा झुण्ड्याएर  मृत्युदण्ड दिइएको थियो। त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानेर मारिएको  थियो।

नेपालभ्युज

शुक्रराजको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै शहीद सप्ताह शुरु

काठमाडौं। शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ।

काठमाडौंको टेकु मचलीस्थित शहीद शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा पुगेर काठमाडौं महानगरका मेयर एवं शहीद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका हुन्।

कोभिड महामारीका कारण यस वर्ष औपचारिक रूपमा सभा आयोजना गरिएन। मन्तव्य राखिएन। संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड अपनाउँदै सीमित पदाधिकारी उपस्थित भएर शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको हो। यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण शुरु गरेको हो।

पुष्पगुच्छा अर्पणपछि शहीद सप्ताहका कार्यक्रमका बारेमा संक्षिप्त प्रतिक्रिया दिँदै मुल समारोहका संयोजक मेयर शाक्यले, यस वर्ष शहीद सप्ताहका कार्यक्रममा केही परिवर्तन गरिएको जानकारी दिए। ‘‘अहिले कोभिड संक्रमणको दर बढ्ने क्रममा छ। यसकारण हामी सीमित व्यक्तिहरूको उपस्थितिमा सप्ताहव्यापी कार्यक्रम गर्नेछौँ।’’

पारिवारिक रूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने शहीदको योगदानलाई प्रतिकुल परिस्थिति छ भनेर बिर्सन मिल्दैन। त्यसैले कार्यक्रमको स्वरूप परिवर्तन गरेर सप्ताहव्यापी कार्यक्रमलाई निरन्तरता दिइएको मेयर शाक्यको भनाइ थियो।

कार्यक्रममा उपमेयर खड्गी श्रेष्ठले व्यक्तिगत लाभभन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मानेर प्राणको आहुति दिने शहीदहरूको सम्मान अन्य कुनै कारण नरोकिने प्रतिक्रिया दिए।

शुक्रराजको जन्म वि. सं. १९५० सालमा बनासरमा भएको हो। भारतकै देहरादुनस्थित अच्युतानन्दको गुरुकुलबाट प्रारम्भिक शिक्षा शुरु गरेका शास्त्रीले इलाहवादकै आर्य समाज बिद्यालयमा केही समय प्रधानाध्यापकका रूपमा काम गरेका थिए। त्यस क्रममा उनले पटना, दार्जिलिङ्, कलकत्तालगायत स्थानमा भएका नेपाली भाषीबीच नागरिक अधिकारका विषयमा संगठन बनाउन शुरु गरेका थिए। त्यसपछि नेपाल फर्किएका शास्त्रीलाई उपत्यकामा नजरबन्दमा राखिएको थियो। यति हुँदाहुँदै पनि शास्त्रीले १९९४ सालमा असनमा आफ्नै अध्यक्षतामा नागरिक अधिकार समिति गठन गरेका थिए। यस समितिको सदस्यमा गंगालाल श्रेष्ठ पनि थिए।

धार्मिक गतिविधिबाट जहानियाँ शाशनविरुद्ध जागरण अभियान सञ्चालन गर्ने क्रममा १९९४ मंसिर १३ गते इन्द्रचोकमा मानिसहरूलाई भेला गराएर गीताका श्लोकमार्फत जहानियाँ शासनको आलोचना गरेका थिए। राणाको विरोध गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। १९९७ माघ ७ गते सिंहदरबारमा राजा त्रिभुवन र प्रधानमन्त्री जुद्धशमसेरसहितको इजलासले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्द र पूर्णनारायण प्रधान गरी ५ जनालाई सर्वस्वसहित ज्यान सजायको फैसला सुनाइएको थियो। पछि पूर्णनारायणको सजायलाई आजन्म कैदमा परिवर्तन गरियो। यसरी जेल सजाय भोगिरहेकै बेला राणा शाशनविरुद्ध कदम चालेको आरोपमा शास्त्रीलाई १९९७ साल माघ १० गते टेकु मचलीस्थित खरिबोटमा र धर्मभक्त माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रूखमा झुण्ड्याएर  मृत्युदण्ड दिइएको थियो। त्यस्तै गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा गोली हानेर मारिएको  थियो।

महानगरले प्रजातन्त्र प्राप्तिका लागि ज्यानदण्ड पाएका ४ शहीदहरूको पूर्ण कदको शालिक शहीदहरूले सहादत प्राप्त गरेकै स्थानमा स्थापना गरेको छ। २०७५ सालमा शुक्रराज शास्त्रीको शालिक स्थापना गरिएको हो भने धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दको २०७६ सालको श्रद्धाञ्जली सभामा स्थापना गरिएको हो।

शहीद सप्ताहका बाँकी कार्यक्रमहरूमा माघ १३ गते सिफलमा शहीद धर्मभक्त माथेमाको शालिकमा र १५ गते शोभा भगवतीमा गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरिनेछ।

यस वर्ष प्रभात फेरी हुनेछैन। माघ १६ गते विहान ९ बजे लैनचौरको शहीद स्मारक ज्ञात अज्ञात शहीदको सम्झनामा संक्षिप्त स्मृति कार्यक्रम आयोजना हुनेछ। त्यस अवसरमा प्रधानमन्त्रीसहित केही उच्च पदस्थ अधिकारी मात्र उपस्थित हुनुहुनेछ। सम्मान गारदका लागि नेपाली सेनाको सानो टुकडी मात्र हुनेछ। त्यसै दिन मध्यान्न १२ बजे टुँडिखेलमा तोपको सलामी अर्पण गरिनेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved