काठमाडौं। महाधिवेशन सकिएको करीब महीना दिन बित्सासमेत नेकपा (माओवादीकेन्द्र) ले पदाधिकारीको नाम टुंगो लगाउन सकेको छैन। एक सातालामोे उक्त पार्टीको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पदाधिकारीको नाम टुंग्याउने बताए पनि त्यस्तो हुन सकेन।
पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले अध्यक्षको नाम टुगंयाउँदा अन्य पदाधिकारीको नाम भने ८ माघमा बस्ने केन्द्रीय समितिको बैठकले निर्क्योल गर्ने बताएको थियो तर उक्त बैठक स्थगित भयो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीनमा उपचारत पार्टीका नेता वर्षमान पुन स्वदेश फर्किएपछि २७ माघमा बस्ने केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम छिनोफानो गर्ने बताएका छन्।
महाधिवेशनको बन्दसत्रबाट पारित सो पार्टीको विधानले १५ पदाधिकारी राख्ने निर्णय गरेको छ। त्यसमध्ये अध्यक्षमा प्रचण्ड चयन भएकाले अन्य १४ पदाधिकारी चुनिन बाँकी छ। संशोधित विधानअनुसार माओवादीकेन्द्रमा अध्यक्षबाहेक १ वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष चयन हुन बाँकी छ। अन्य पदाधिकारी अध्यक्षभन्दा पछिको शक्तिशाली पद– महासचिवमा धेरै जना नेताबीच प्रतिस्पर्धा देखिएको छ।
पार्टीको महासचिव को हुने भन्ने विषयमा रस्साकस्सी चलेकाले पनि पदाधिकारीको नाम सार्वजनिक हुन नसकेको माओवादी नेताहरु बताउँछन्।
माओवादीको महासचिवका लागि अर्थमन्त्री समेत रहेका जनार्दन शर्मा र पूर्वअर्थमन्त्री वर्षमान पुनलाई प्रमुख दाबेदारका रुपमा हेरिएको छ।
माओवादीकेन्द्रका केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले वर्षमान पुन नै महासचिव हुने ठोकुवा गरे। “वर्षमान पुनभन्दा अर्को व्यक्ति महासचिव हुने भए सहमतिका आधारमा उहिले नै भइसक्थ्यो,” उपाध्यायले नेपालभ्यूजसँग भने, “पुनलाई पर्खिनुको मतलब नै उहाँलाई नै सो पदको जिम्मेवारी प्राप्त हुँदैछ भन्ने हो।”
माओवादी केन्द्रका अर्का नेता पूर्व स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने कुनै पनि नेताको नाममा यस्तो सहमति नजुटेको बताउँछन्। पदाधिकारीका छनोट केन्द्रीय समितिको बैठकले गर्ने हुँदा त्योभन्दा अघि नामका विषयमा सहमति नहुने गजुरेलले बताए।
“२५ माघमा बस्ने केन्द्रीय समितिको बैठकले महासचिव लगायत पदाधिकारीको नाम छनोट गर्छ,” गजुरेलले भने, “पार्टीको आठौँ महाधिवेशनको बन्दसत्रले त्यो अधिकार केन्द्रीय समितिलाई दिएको छ, त्योभन्दा फरक तरिकाले सहमति हुँदैन।”
यद्यपि कोरोना संक्रमण बढ्दै गएको अवस्थामा पार्टीको केन्द्रीय समितिको बैठक फेरि पनि सर्ने सम्भावना रहेको नेता गजुरेलले बताए।
वर्षमान पुन र जनार्दन शर्माबाहेक कृष्णबहादुर महरा, पम्फा भुसाल, देव गुरुङ, शक्ति बस्नेत लगायतका नेताको नाम पनि महासचिवका लागि चर्चामा छ। तर, महासचिव पदका लागि पुन र शर्मामध्ये एकले अर्कोलाई स्वीकार गर्न तयार नहुने अवस्थामा देव गुरुङलाई दुवैको विकल्पका रुपमा अघि सार्ने योजनामा अध्यक्ष प्रचण्ड रहेको पनि उपाध्यायले बताए।
“सधैँ एउटा विषयमा पार्टी अल्झिएर बस्ने भन्ने हुँदैन, पार्टीलाई निकास दिन पनि अध्यक्षले विकल्पका रुपमा गुरुङलाई अघि सार्ने संभावना रहन्छ”, उपाध्यायले भने।
पार्टीका अरू नेताहरू पनि महासचिवमा शर्माको तुलनामा पुनको संभावना बढी रहेको बताउँछन्। पार्टीको महासचिव जस्तो व्यक्तिका लागि देशभित्र मात्रै होइन अन्तर्राष्ट्यि मित्र राष्ट्रसँगको सम्बन्धले पनि अर्थ राख्छ। त्यस हिसाबमा शर्माको तुलनामा पुनको सम्भावना बढी रहेको तर्क पनि माओवादीकेन्द्रभित्र हुने गरेको छ।
यसको मतलब अर्थमन्त्री शर्मा पार्टीको महासचिव बन्नसक्ने संभावना टरिसकेको भने छैन। शर्माको सम्भावना पनि उत्तिकै बाँकी रहेको सो पार्टी नेताहरु बताउँछन्। पार्टीका एक केन्द्रीय सदस्य भन्छन्, “केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने बताए पनि अध्यक्षकै चाहनालाई समितिले सदर गर्ने हो, त्यसैले यसको उसको सम्भाना छ भन्नुको खासै अर्थ छैन।”
महासचिवका प्रबल दाबेदारहरुको पम्फा भुसाल, देव गुरुङ, जनार्दन शर्मा र वर्षमान पुनको व्यक्तिगत र राजनीतिक पृष्ठभूमि यस्तो छ–
पम्फा भुसाल
पार्टीभित्र समानुपातिक प्रतिनिधित्वको आवाज उठ्दै गर्दा महासचिव पदका लागि पम्फा भुसालको नाम पनि उत्तिकै चर्चामा छ। भुसालले अध्यक्ष प्रचण्डसमक्ष आफू महासचिव पदका लागि योग्य भएको दाबी प्रस्तुत गरिसकेकी छिन्। उनी माओवादीकी महासचिवका दाबेदारमध्ये सबैभन्दा वरिष्ठ नेतृ हुन्। ०५१ सालमै संयुक्त जनमोर्चाको अध्यक्ष भइसकेकी नेतृ भुसाल नेपालकै पहिलो महिला पार्टी पनि प्रमुख हुन्।
२०१९ सालमा अर्घाखाँचीमा जन्मिएकी हुन्, नेतृ भुसाल। ईञ्जिनीयरिङ क्याम्पस, पुल्चोक पढेकी उनले स्नातकोत्तर गरेकी छन्। २०३३ सालमा अनेरास्ववियू (छैठौं) को सदस्यता लिएसँगै उनको राजनीतिक यात्रा शुरु भएको हो।
२०३७–३८ मा उनी अखिल नेपाल महिला संघको महासचिव रहिसकेकी छन्। नेकपा (चौथो) को २०३७ मा सदस्यता लिएकी भुसालले नेकपा (मशाल) को २०४० मा जिल्ला सदस्य भइन्।
२०४८ मा संयुक्त जनमोर्चा नेपालको सचिव रहेकी उनले पार्टीको प्रवक्ताको भूमिका समेत निर्वाह गरेकी छिन्। उनले २०६४, २०६५ र २०६८ सालमा मन्त्री भइसकेकी उनी उर्जा मन्त्रीको जिम्मेवारी बहन गर्दै छिन्।
जनार्दन शर्मा
वि एडसम्मको अध्ययन गरेको जनार्दन शर्मा रुकुम–पश्चिम बाट निवार्चित सांसद हुन्। उनी ५९ वर्ष भए। २०३४ मा नेकपा कम्युनिष्ट (चौथो महाधिवेशन) को एकाईं कमिटीमा आबद्ध रहँदै राजनीतिक यात्रा शुरु गरेका शर्मा २०५० सालमा पार्टीको जिल्ला कमिटी सदस्य थिए।
२०५६ सालमा माओवादीको केन्द्रीय सदस्य भएका उनी २०५७ सालमा पोलिटब्युरो सदस्य भएका थिए। यस्तै २०५७ मा नै महाकाली क्षेत्रीय ब्युरो इञ्चार्ज, २०६० सालमा जनमुक्ति सेना डिभिजन कमाण्डर भएका थिए।
यस्तै पार्टी शान्ति प्रक्रियामा आएपछि २०६४ सालमा सेना समायोजन विशेष समितिका सदस्य रहेका उनी २०७१ मा पार्टीको जनवर्गीय संगठन इञ्चार्जमा नियुक्त भएका थिए। उनी चारपटक मन्त्री भइसकेका छन्।
पहिलो पटक २०६५ सालमा शान्ति तथा पुननिर्माणमन्त्री भएका उनी २०७३ सालमा उर्जामन्त्री नियुक्त भएका थिए। यस्तै २०७४ सालमा गृहमन्त्री रहिसकेका शर्मा हाल अर्थमन्त्रीको जिम्मेवारीमा छन्।
देव गुरुङ
२०१५ सालमा लमजुङमा जन्मिएका गुरुङको शैक्षिक योग्यता स्नाकोत्तरसम्म रहेको छ। उनी २०३६ सालदेखि राजनीतिक रुपमा सक्रिय रहँदै आएका छन्। २०३८ सालमा नेकपा (मशाल)को केन्द्रीय सदस्य भएका उनी २०५१ सालमै माओवादीको पोलिटब्युरो सदस्य थिए।
यस्तै २०६१ सालमा पार्टीको स्थायी समिति सदस्य भनेका उनी हाल प्रतिनिधिसभामा माओवादीकेन्द्रको मुख्य सचेतक छन्। उनी दुईपटक मन्त्री बनेका छन्।
दोस्रो, माओवादी शान्ति प्रक्रियामा समावेश गर्दा पार्टी गिरिजाप्रसाद कोइरालामा नेतृत्वको अन्तरिम सरकारमा गुरुङ स्थनीय विकासमन्त्री नियुक्त भएका थिए– २०६३ सालमा। यस्तै २०६५ सालमा उनी कानून तथा न्यायमन्त्री समेत भएका छन्।
वर्षमान पुन
२०२८ सालमा रोल्पामा जन्मिएका पुनको शैक्षिक योग्यता विएल सम्मको छ। हाल रोल्पा– १ बाट निर्वाचित सांसद पुन २०४२ सालबाट राजनीतिक रुपमा सक्रिय छन्।
डा. बाबुराम भट्टराईको सरकारका अर्थमन्त्री रहेका पुन संघीय निर्वाचनपछि गठन भएको केपी ओली सरकारमा उर्जामन्त्री थिए। पटक–पटक मन्त्री भएका वर्षमानकी पत्नी ओनसरी घर्ती पनि यसअघि नै सभामुख भइसकेकी छिन्।
Facebook Comment
Comment