ढाका । पाकिस्तानबाट बंगलादेशका लागि समुन्द्री मार्ग हुँदै सामानको सिधा ढुवानी भएको छ ।
मालबाहक पानीजहाजमार्फत् बंगलादेशमा सफलतापूर्वक कन्टेनरहरू उतारेको बन्दरगाहका अधिकारीहरूले आइतबार भने, “पाकिस्तानबाट बंगलादेशका लागि भएको यो दशकौंपछिको पहिलो ढुवानी हो।”
सन् १९७१ को युद्धपछि यी दुई देश विभाजित भएका थिए र त्यसपछि बंगलादेश पाकिस्तानको प्रतिद्वन्द्वी भारतसँग नजिक भएको थियो।
तर गत अगष्टमा विद्यार्थी नेतृत्वको आन्दोलनले बंगलादेशकी तत्कालिन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेपछि उनी नयाँदिल्लीमा शरण लिन पुगेकी थिईन् ।
पनामाको ध्वजाबाहक युआन सियाङ फा झान नामक १८२ मिटर (५९७ फिट) लामो कन्टेनर जहाज पाकिस्तानको कराँचीबाट बंगलादेशको चटगाउँका लागि छुटेको र नोभेम्बर ११ मा सामान गन्तव्यमा पुगी झारिसकिएको चटगाउँ बन्दरगाहका उच्च अधिकारी ओमार फारुकले बताए ।
ढाकाका लागि पाकिस्तानका राजदूत सैयद अहमद मारुफले फेसबुकमा लेखेका छन्, “यो मार्गले दुवै तर्फका व्यवसायका लागि नयाँ अवसरलाई बढावा दिनेछ ।”
चटगाँउ बन्दरगाहका अधिकारीहरूका अनुसार जहाजले पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) बाट सामानहरू ल्याएको थियो, जसमा बंगलादेशको प्रमुख गार्मेन्ट उद्योगका लागि कच्चा पदार्थ र आधारभूत खाद्य पदार्थहरू समावेश थिए।
गत सेप्टेम्बरमा बंगलादेशले पाकिस्तानी सामानको आयातमा लगाइएको प्रतिबन्धलाई खुकुलो बनाएको थियो । प्रतिबन्धले पहिले सामानको आगमनमा अनिवार्य भौतिक निरीक्षण अनिवार्य गरिएका कारण ढुवानीमा लामो ढिलाइ हुनेगरेको थियो ।
यसअघि, पाकिस्तानी सामानहरू बंगलादेश जानुअघि सामान्यतया श्रीलङ्का, मलेसिया वा सिङ्गापुरका फिडर जहाजहरूमा लोड गर्नुपर्थ्यो । एएफपी
Facebook Comment
Comment