ताप्लेजुङमा अक्सिजन उत्पादन शुरू

नेपालभ्युज

ताप्लेजुङमा अक्सिजन उत्पादन शुरू
फाइल तस्वीर

ताप्लेजुङ । ताप्लेजुङ जिल्ला अस्पतालले व्यावसायिक रुपमा अक्सिजन उत्पादन शुरू गरेको छ। जिल्लामा अक्सिजन प्लान्ट जडान भएसँगै व्यावसायिक रुपमा उत्पादन शुरू भएको हो।

गत कात्तिक तेस्रो साता जिल्ला अस्पतालमा जडान भएको अक्सिजन प्लान्टबाट व्यावसायिक रुपमा उत्पादन सुरु भएको प्लान्ट अपरेटर तथा जिल्ला अस्पातलको (बायोमेट्रिक टेक्निसियन प्रमुख) सरोज चौधरीले बताए। अहिले प्लान्टबाट तीन देखि १५ लिटरका २० वटा सिलिन्डरसम्म दैनिक अक्सिजन उत्पादन हुँदै आएको चौंधरीले बताए।

जिल्ला अस्पतालमा पर्याप्त अक्सिजन भएसँगै आठ गाउँपालिकामा रहेको विभिन्न अस्पताल तथा स्वास्थ्य चौंकीहरुमा निर्यात हुन थालेको जिल्ला अस्पतालले जनाएको छ। पाँचदेखि १५ लिटरसम्म सिलिन्डर अक्सिजन भर्नका लागि पाँच सय, १५ देखि ३५ लिटर सम्मलाई एक हजार र त्यस्तै ३५ देखि ६५ लिटर सम्मको सिलिन्डर भर्नका लागि एक हजार ५०० रुपैँया मूल्य निधारण गरिएको चौधरीले बताए।

सङ्घीय सरकारले ७१ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन सफल भएको थियो। अहिले सो प्लान्टबाट उत्पादित अक्सिजन बिक्रीसमेत गर्न थालिएको हो ।

अस्पतालमा सानो र ठूला गरी १ सय १८ वटा अक्सिजन सिलिन्डर भरेर प्रयोग गर्न मिल्ने गरी तयारी अवस्थामा राखिएको जिल्ला अस्पतालले जनाएको छ । स्थानीय तहमा अक्सिजन नै पाइँदैन भनेर बाहिर जानुपर्ने अवस्था नहुने जिल्ला अस्पतालका सूचना अधिकारी विजया राईले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved