काठमाडौं । दिल्लीको वायु गुणस्तर आइतबार बिहान ‘गम्भीर’ तहमा पुगेको छ। बीबीसीका हिन्दीका अनुसार जाडो मौसम सुरु भएसँगै प्रत्येक वर्षझैँ दिल्लीमा वायु प्रदूषणको समस्या देखिने गरेको छ ।
संघीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार, दिल्लीको नेहरु नगरमा सबैभन्दा बढी वायु प्रदूषण मापन गरिएको छ। बिहान ८ बजेको तथ्याङ्कअनुसार, नेहरु नगरमा एक्यूआई ४३१ पुगेको छ, जुन वायु गुणस्तरको ‘गम्भीर’ तह मानिन्छ। एक्यूआई वायु गुणस्तर सूचकाङ्कको छोटकरी रूप हो। यसले हाम्रो वरपरको हावा कति स्वच्छ छ भनेर मापन गर्छ।
नेहरु नगरका साथै दिल्लीका आनन्द विहार, अशोक विहार, पञ्जाबी बाग र रोहिणीमा पनि एक्यूआई ४०० भन्दा माथि नै रहेको छ। यी क्षेत्रका अतिरिक्त दिल्लीका अधिकांश क्षेत्रमा एक्यूआई ३०० देखि ४०० बीचमा रहेको छ, जुन वायु गुणस्तरको ‘अत्यन्त खराब’ तह मानिन्छ।
दिल्लीका स्थानीय बासिन्दाले पनि वायु प्रदूषणका कारण सास फेर्न गाह्रो जस्ता समस्या भोगिरहेका छन्। एक स्थानीयले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा भने, ‘सास फेर्न पनि धेरै गाह्रो भएको छ। आँखा पनि पोलेको छ। म मानिसहरूलाई बिहान व्यायाम गर्ने वा मर्निङ वाक नगर्न सुझाव दिन्छु।’
Facebook Comment
Comment