तिहारले संस्कृतिको जीवन्ततामा सहयोग गर्छ : उपराष्ट्रपति यादव

नेपालभ्युज

तिहारले संस्कृतिको जीवन्ततामा सहयोग गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताएका छन्।

तिहार पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले पर्यावरणको दृष्टिकोणले शुभ दीपावली मनाउने क्रममा पटाका पड्काउनुले पर्यावरणमा नकारात्मक प्रभाव पर्नेतर्फ सचेत रहन अनुरोध पनि गरेका छन् ।

उपराष्ट्रपति यादवले यस पर्वले सामाजिक सौहार्दता, भाइचारा एवम् राष्ट्रिय तथा सामुदायिक एकताको भावनालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

“तिहार धार्मिक, सांस्कृतिक र सामाजिकताको दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण पर्व हो । यो एउटा पर्व मात्रै होइन नेपाली संस्कृति र परम्पराको अभिन्न हिस्सा पनि हो । मुख्यतः हिन्दू, जैन र सिख धर्मावलम्बीले अत्यन्तै आस्था र श्रद्धाभावका साथ यो पर्व मनाउँछन् । नेपालमा विभिन्न धर्मावलम्बीको बसोबास रहेकाले अन्य धर्मका अनुयायीहरू पनि आफ्ना इस्टमित्र र छरछिमेकीसँग मिलेर यो पर्व सौहार्दताका साथ मनाउनु हामो मौलिक विशेषता हो,” उनले उल्लेख गरे ।

तिहार विभिन्न रीतिरिवाज, रहनसहन, परम्परा र अनुष्ठान समावेश भएको विविधतामा एकताको सन्देशवाहक पर्व पनि भएको उपराष्ट्रपति यादवको भनाइ छ ।

यस पर्वका अवसरमा गरिने घरआँगनको सरसफाइ, घरघरमा दीप प्रज्वलन, धनतेरस, देउसीभैलो, कागतिहार, कुकुरतिहार, लक्ष्मी पूजा, गाई पूजा, गोवर्धन पूजा, हुर्राहुर्री, डाढ, म्हः पूजा र भाइटीका ९भ्रातृ द्वितीया० आदि यसका सांस्कृतिक विशेषताका रहेका सन्देशमा उल्लेख छ ।

“पारम्परिक भेशभूषामा देउसी भैलो खेल्ने, मिठाई बाँड्ने, बजडी खुवाउने र सांस्कृतिक कार्यक्रमको आयोजना गर्नुले हाम्रा मौलिक संस्कृतिलाई जर्गेना गर्दै त्यसलाई जीवन्त बनाई राख्न सहयोग पुग्दछ । स्थान, भूगोल र क्षेत्र विशेषअनुसार यो पर्व फरक–फरक तर मौलिक परम्पराअनुसार मनाइन्छ,” उनले भनेका छन् । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved