नेसपा विधान महाधिवेशनमा प्रतिनिधिहरूको प्रस्ताव- पार्टीको नाम र झण्डा नयाँ शक्तिकै राखौँ

'माओवादी केन्द्रलगायतका दलसँग एकता नगरौँ'

नेपालभ्युज

नेसपा विधान महाधिवेशनमा प्रतिनिधिहरूको प्रस्ताव- पार्टीको नाम र झण्डा नयाँ शक्तिकै राखौँ
नेसपाको जारी विधान महाधिवेशन । तस्वीर : रूपनारायण श्रेष्ठ ।

पोखरा । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को विधान महाधिवेशन सोमबारबाट पोखरामा जारी छ ।

महाधिवेशन प्रतिनिधिहरूले १० समूहमा विभाजित भएर समूहगत छलफल गरिसकेका छन् । उनीहरूले छलफलबाट प्राप्त निष्कर्ष बन्दसत्रमा सुनाइसकेका छन् ।

समूहगत छलफलपछि उनीहरूले पार्टीलाई नयाँ शक्तिकै प्रस्थान बिन्दुबाट अघि बढाउन प्रस्ताव गरेका छन् । “नयाँ शक्तिकै प्रस्थान बिन्दुबाट पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने प्रस्ताव धेरै समूहबाट प्राप्त भएको छ,” नेसपा प्रवक्ता कृष्ण शर्माले जानकारी दिए ।

यस्तै पार्टीको नाम र झण्डा नयाँ शक्तिकै राख्ने प्रस्ताव गरिएको छ । “प्रतिनिधिहरूले पार्टीको नाम र झण्डा नयाँ शक्तिकै राख्ने प्रस्ताव गर्नुभएको छ । यसमाथि छलफल हुन्छ,” प्रवक्ता शर्माले भने ।

यस्तै उनीहरूले विचार र सिद्धान्त मिल्ने नयाँ दलहरूसँग पार्टी एकता र ध्रुवीकरण गर्दै अगाडि जाने प्रस्ताव गरेका छन् । पुराना दलहरूसँग भने एकता नगर्ने प्रतिनिधिहरूको प्रस्ताव छ ।

नेसपा नेता रूपनारायण श्रेष्ठका अनुसार उनीहरूले माओवादी केन्द्रलगायतका पुराना दलसँग एकता नगर्न भनेका छन् । “पुराना दलसँग एकता नगर्ने तर, नयाँ र विचार, सिद्धान्त मिल्ने दलहरूसँग एकता गर्ने भन्ने प्रस्ताव आएको छ,” उनले भने ।

यसअघि नेसपाले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने प्रयास गरेको थियो तर, अन्तिम समयमा त्यो भएन । यससँगै नेसपा नेताहरूले अब कुनै पनि दलसँग एकता नगर्ने नीति लिने बताउँदै आएका थिए । यहीबेला महाधिवेशन प्रतिनिधिहरूले पनि पुराना दलसँग एकता नगर्ने प्रस्ताव गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved