आपसी सहयोग र सद्भाबका साथ बडादशैं मनाउन प्रधानमन्त्रीको सुझाव, प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह

नेपालभ्युज

आपसी सहयोग र सद्भाबका साथ बडादशैं मनाउन प्रधानमन्त्रीको सुझाव, प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह
फाइल तस्वीर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाकाबीच आपसी सहयोग र सद्भाबका साथ विजया दशमी मनाउन अनुरोध गरेका छन् ।

विजया दशमी २०८१ को अवसरमा उनले भिडियो सन्देशमार्फत यस्तो आग्रह गरेका हुन् ।

देशभित्र तथा प्रवासमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्दै विपद्अघिको अवस्थामा समाजलाई फर्काउन सरकारसँग ‘होस्टेमा हैसे’ मिलाउन सबैलाई उनले आह्वान समेत गरे ।

प्रधानमन्त्री ओलीले विपद्को घडीमा यसपालीको दशैंको टीका उल्लासपूर्ण हुन नसकेको समेत उल्लेख गरेका छन् ।

‘ विपद्को घडीमा यतिबेला मेरो मन भारी भइरहेको छ । भारी मनकासाथ दसैँको उल्लासमा रमाउनुपर्ने बेला हाम्रो दिदीबहिनी तथा दाजुभाइ रमाउन नसकिरहेको अवस्था र म पनि रमाउन सकिरहेको छैन, ’ उनले भनेका छन्, ‘ दशैंअघि आएको भीषण बाढी र पहिरोका कारणले निर्दोष बालबालिका र असक्त जेष्ठ नागरिकहरुले जीवन गुमाउनुपर्यो । कति घाइते हुनुभयो, धेरै जनधनको क्षति भयो ।’

प्रधानमन्त्री ओलीले शुभकामना भिडियो सन्देशमार्फत सरकार प्रकोपपछिको उद्धार, राहत र पुनःस्थापनामा केन्द्रित रहेको जानकारी दिँदै आश्वस्त रहन आग्रह गरे ।

उनले आफू नेतृत्वको सरकार जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गर्दै प्रकोप प्रभावितलाई धैर्य धारण गर्न आग्रह समेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved