पहिलो चरणमा इजरायल गए ९९ श्रमिक

नेपाली श्रमिकले इजरायलमा मासिक करीब दुई लाख रुपैयाँ पारिश्रमिक पाउनेछन्। उनीहरुले इजरायली श्रमिकसरहको पारिश्रमिक, बिदा र स्वास्थ्योपचार सुविधा प्राप्त गर्ने काठमाडौंस्थित इजरायली दूतावासले जनाएको छ।

नेपालभ्युज

पहिलो चरणमा इजरायल गए ९९ श्रमिक
फाइल तस्वीर

काठमाडौं। नेपाल र इजरायलबीच भएको श्रम सम्झौताअनुसार ९९ नेपाली श्रमिक पहिलो चरणमा इजरायल प्रस्थान गरेका छन्। बुधबार राति ६३ महिला र ३६ पुरुष गरी ९९ नेपाली श्रमिक इजरायल प्रस्थान गरेका हुन्।

इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’का आधारमा उनीहरु रोजगारीका लागि इजरायल गएका हुन्। यसपछि यही १५ र १६ माघमा दुई उडानमार्फत थप श्रमिक इजरायल जानेछन्।

वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५०० र मंसीरमा ६७५ श्रमिकको नामावली रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो।

छनोटमा परेका एक हजार १७५ मध्ये ८२१ महिला र ३५४ पुरुषको अन्तिम नामावली प्रकाशित भएको छ। नेपाल सरकार र इजरायल सरकारबीच १४ असोज २०७७ मा श्रम सम्झौता भएको थियो।

नेपाली श्रमिकले इजरायलमा मासिक करीब दुई लाख रुपैयाँ पारिश्रमिक पाउनेछन्। उनीहरुले इजरायली श्रमिकसरहको पारिश्रमिक, बिदा र स्वास्थ्योपचार सुविधा प्राप्त गर्ने काठमाडौंस्थित इजरायली दूतावासले जनाएको छ।

इजरायलमा दीर्घकालीन सहायक श्रमिकका लागि छनोट भई पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोदारले बिदाइ गरे।

पहिलो चरणमा इजरायल प्रस्थान गरेका श्रमिकलाई शुभकामना दिँदै मन्त्री श्रेष्ठले नेपालको प्रतिष्ठा उँचो पार्ने गरी अनुशासित भएर काम गर्न आग्रह गरे।

सो अवसरमा नेपालका लागि इजरायली राजदूत गोदारले नेपाली श्रमिकले नेपाली परिवार र इजरायली परिवारबीच सेतुका रुपमा भूमिका निर्वाह गर्ने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved