काठमाडौं। कोरोना सङ्क्रमण फैलिएपछि विशेष अदालतले नियमित सेवा प्रवाहमा सङ्कुचन गरेको छ। मङ्गलवार सर्वोच्चको पूर्ण बैठकको निर्णयअनुसार अदालतले सेवा प्रवाह कटौतीको सूचना जारी गरेको हो ।
माघ ६ देखि लागू हुने गरी माघ १८ सम्म सेवा कटौती गरिएको उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिए। अदालतले थुनुवा भएका मुद्दाबाहेकका अन्य सबै मुद्दाको साप्ताहिक र दैनिक पेसी सूचीअनुसारको सुनुवाइ स्थगन गरेको छ।
यस्तै साक्षीको बकपत्र, हाजिर हुन आउने तथा वारेसका निवेदनको पेसी पनि स्थगन गरेको छ। धरौटी फिर्ता, रोक्का फुकुवालगायतका सेवा पनि अदालतले बन्द गरेको छ।
फैसला तथा अन्य कागजात प्रमाणित गर्ने सम्पूर्ण सेवा पनि अदालतले स्थगन गरेको छ । थुनुवा मुद्दाको सुनुवाइ पनि भर्चुअल माध्यमबाट गरिने अदालतद्वारा जारी सूचनामा उल्लेख छ। अन्य सेवा बन्द भए पनि मुद्दा दर्तालगायतका प्रक्रिया भने यस अवधिमा पनि जारी रहनेछन्।
अभियोग पत्रसाथ उपस्थित गराइएका अभियुक्तको थुनछेक प्रक्रिया, म्याद थपलगायत प्रक्रिया पनि भर्चुअल माध्यमबाटै सञ्चालित रहनेछन्। सेवा प्रवाह स्थगनको अवधिका मुद्दा तथा निवेदनहरूमा रहेको म्याद, हदम्याद र तारेख नगुज्रने अदालतको सूचनामा उल्लेख छ ।
Facebook Comment
Comment