झ्याप्लेखोलाको पहिरोमा पुनः खोजी, काठमाडौं भित्रिने र बाहिरिने सवारीलाई आलोपालो

नेपालभ्युज

झ्याप्लेखोलाको पहिरोमा पुनः खोजी, काठमाडौं भित्रिने र बाहिरिने सवारीलाई आलोपालो

मलेखु । धादिङ र काठमाडौंको सिमानानजिकै धुनिबेँसी नगरपालिका–९, झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ ।

तीनवटा सवारीसाधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारीसाधन पुरिएको हुनसक्ने आशंकामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छाएर पुनः खोजी गरिएको हो ।

झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो । दुईवटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशंका रहेकाले पहिरोले थुप्रिएको माटो समेत पुनः पन्छाएर खोजी गरिएको र पहिरोमा कुनै पनि सवारीसाधन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिए ।

निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर आज बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ ।

सवारीसाधन चापकै कारण जोखिमपूर्ण स्थानहरूमा जाम हुन नदिन काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनलाई आलोपालो गरी आउजाउ गराइएको छ । शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved