चाडपर्वमा घर फर्कनेको यात्रा सहज बनाउन सरकारलाई एमालेको ध्यानाकर्षण

नेपालभ्युज

चाडपर्वमा घर फर्कनेको यात्रा सहज बनाउन सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौं । नेकपा एमालेले चाडपर्वको समयमा घर फर्कने नागरिकका लागि सहज यात्रा गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

एमालेको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई भेटेर सडकहरुको ममर्त गर्नुपर्ने, यातायातका साधनको अभाव हुन नदिन, यात्रुहरुको सुरक्षाको व्यवस्था लगाएतका विषयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

विभागका प्रमुख खिमलाल भट्टराईले यात्रुहरुको ठूलो पंक्तिका लागि सहज रुपमा सवारी साधनको व्यवस्था गर्न, राजमार्गहरुको मर्मत सम्भार गर्न ध्यानाकर्षण गराइएको बताए ।

उनले सम्भावित दुर्घटना र जोखिमबाट बच्न सडक एम्बुलेन्स र आवश्यक सुरक्षाकर्मीहरुको प्रबन्ध गर्न ध्यानाकर्षण गराए ।

राजमार्ग छेउका होटलहरुमा गुणस्तरीय खाजा खानाका साथै ठगी हुन नदिन सरोकारवाला निकायको प्रभावकारी परिचालन गर्न पनि उनले आग्रह गरे ।

ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री सिंहले चाडपर्वलाई सुरक्षित तवरले मनाउने वातावरण बनाउन सरकारी निकायबीच समन्वयकारी ढंगले काम भइरहेको जानकारी दिए ।

ध्यानाकर्षणमा रहेका बुँदाहरुलाई कार्यान्वयनका लागि आफूले सक्दो पहल गर्ने उनको भनाइ छ ।

त्यस्तै, एमालेले चाडपर्वमा हुनसक्ने महँगी र कालोबजारी रोक्न प्रभावकारी अनुगमन गर्नुपर्ने, सुपथ मूल्यका पसलहरु देशभरी खोल्नुपर्ने लगाएतका सुझाव दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved