बायाँबाट दायाँ क्रमश: डा. कुन्दन अर्याल, डा. देवराज अर्याल, डा. घमराज लुइँटेल, शशी मरासिनी, लक्ष्मण हुमागाईं र बाबुराम आचार्य ।
काठमाडौं । पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग, बल्खुमा ‘तीज विशेष कार्यक्रम’ सम्पन्न भएको छ ।
विभागअन्तर्गत स्नातकोत्तर (एमए) दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूद्वारा आयोजित कार्यक्रम बुधबार बिहान केन्द्रीय विभाग, बल्खुको क्यामेराघरमा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा रहेका विभागका प्रमुख डा. कुन्दन अर्यालले तीज मनाउने तौरतरिका समयसापेक्षित रूपमा परिवर्तन हुनुपर्ने विचार राखे । “५०/६० वर्ष अगाडिको तीज र अहिलेको तीज उस्तै हुनुहुन्न,” प्रमुख अर्यालले भने, “अब रुँदै माइतीघर जाने होइन, हाँसेरै जाने हो । श्रीमान्को खुट्टाको पानी खाने, यसो गर्ने उसो गर्ने अब हुनुहुन्न ।”
कार्यक्रमका विशिष्ट अतिथि रहेका उपप्राध्यापक डा. देवराज अर्यालले तीजको महत्त्वमाथि प्रकाश पार्दै शैक्षिक संस्थामा आयोजित त्यस्ता सांस्कृतिक कार्यक्रमले छुट्टै अर्थ राख्ने बताए । “विद्यार्थीहरूलाई हामीले प्रेजेन्टेसन गराउँछौँ, विद्यार्थीहरूले यसरी विभिन्न कार्यक्रमको आयोजना गर्छन् । यी कार्यक्रमहरू आपसमा सहयोगी बन्छन्,” अर्यालले भने, “यस्ता कार्यक्रमहरूले छुट्टै अर्थ राख्छन् । यो विद्यार्थीहरूको व्यक्तित्वसँग जोडिने कुरा पनि हो ।”
तीज विशेष कार्यक्रममा सहभागी विद्यार्थीहरू । तस्वीर : नेपालभ्युज ।
यस्तै अर्का विशिष्ट अतिथि एवम् उपप्राध्यापक डा. घमराज लुइँटेलले शुभकामना दिँदै पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग त्रिविका अरु विभागहरूभन्दा सक्रिय रहेको बताए । “हामीले विद्यार्थीहरूलाई त्यसैगरी ट्रेन्ड पनि गरिरहेका हुन्छौँ,” लुइँटेलले भने, “पढाइसँगै अरु गितिविधिमा विद्यार्थी सक्रिय हुनु, अगाडि बढ्नु राम्रो हो । हामी अरु विभागभन्दा सक्रिय छौँ ।”
यस्तै उपप्राध्यापक शशी मरासिनीले सांस्कृतिक रूपमा तीजको महत्त्व भएको बताउँदै समयसँगै तीजको प्रकृति फेरिनुपर्ने बताए । “महिलाहरू सशक्त भइसकेका छन् । अब माइतीले बोलाएन भनेर रुनुपर्ने अवस्था छैन,” उनले भने, “तीजको महत्त्व छ तर, यसको नेचर फेरिनुपर्छ । फेरिँदै पनि छ ।”
यस्तै लेक्चरर लक्ष्मण हुमागाईंले कार्यक्रममार्फत आम नेपाली; त्यसमा पनि दिदीबिहिनीहरूलाई शुभकामना व्यक्त गर्दै कार्यक्रम आयोजना भएकोप्रति खुसी साटे ।
तीज विशेष कार्यक्रममा सहभागी विद्यार्थीहरू । तस्वीर : नेपालभ्युज ।
कार्यक्रममा नेता एवम् एमए तेस्रो सेमेष्टरका विद्यार्थी बाबुराम आचार्यले कार्यक्रम आयोजना हुनु नै ठूलो कुरा रहेको उल्लेख गर्दै त्यसले निरन्तरता पाउनुपर्ने बताए ।
औपचारिक कार्यक्रमकी सभाध्यक्ष रहेकी दोस्रो सेमेष्टरकी विद्यार्थी साङ्केन राईले पनि शुभकामना व्यक्त गरिन् । कार्यक्रम दोस्रो सेमेष्टरकी विद्यार्थी रन्जु अधिकारीले सञ्चालन गरेकी थिइन् भने शुभकामना मन्तव्य अनिशा पौडेलले दिएकी थिइन् ।
औपचारिक कार्यक्रम सम्पन्न भइसकेपछि प्राध्यापक, निम्तालु विद्यार्थीहरू तथा आयोजक विद्यार्थीहरू नाचेर रमाइलो गरेका रमाइलो गर्दै शुभकामना आदानप्रदान गरेका थिए ।
Facebook Comment
Comment