काठमाडौं। यस अघिसम्म ओलम्पिकको मान्यता प्राप्त खेलमा नेपालको कुनै पनि खेलाडीले विश्व नं १ स्थान प्राप्त गरेको थिएनन्। कलिलो उमेरमा नै धेरै सम्भावना देखाएका नेपालका युवा ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहालले विश्व ब्याड्मिन्टनको जुनियर (यू–१९) तर्फको वरियता क्रममा पहिलो स्थान प्राप्त गर्दै नयाँ इतिहास कोरेका छन्।
ओलम्पिकको मान्यता प्राप्त खेलमा नेपालको कुनै पनि खेलाडीले, चाहे सिनियर होस् या जुनियर, विश्व वरियता क्रममा नं १ पोजिसन प्राप्त गरेको यो पहिलो अवसर हो।
विश्व ब्याड्मिन्टन महासंघले गत बुधबार सार्वजनिक गरेको नयाँ वरियता क्रममा प्रिन्स जुनियर तर्फको विश्व नं १ खेलाडी बने। उनी गत बर्ष नै यो वरियतामा तेस्रो स्थानमा पुग्न सफल भएका थिए।
महासंघले हरेक हप्ता आफू अन्तर्गत भएको प्रतियोगिताको आधारमा नयाँ वरियताक्रम निकाल्थ्यो। कोभिडका कारण पछिल्लो समयमा विश्व ब्याड्मिन्टन महासंघ अन्तर्गतका अधिकांश प्रतियोगिता हुन सकेनन्। त्यसैले महासंघले करिब एक वर्षपछि मात्र नयाँ वरियता निकाल्यो।
जसको फाइदा प्रिन्सलाई पुग्यो। हुन त यो समयमा उनको पनि प्रतियोगिता खेल्न नपाएका कारण वरियताको अंक सुधार हुन सकेको थिएन। तर प्रतियोगिता खासै नभएपछि वरियतामा उनलाई नयाँ खेलाडीले टक्कर दिन पाएनन्। र उनलाई उछिन्न पनि सकेनन्। उनीभन्दा माथिल्लो वरियताका दुई खेलाडीको उमेर बढेर १९ बर्ष कटेपछि उनी स्वतः नं १ खेलाडी बने।
कुनै पनि खेलमा विश्वभरिका खेलाडीलाई पछि पारेर नं १ खेलाडी बन्नु आफैँमा सानो कुरा थिएन।
जसको जिनमा नै ब्याड्मिन्टन
केही खेलाडीलाई भगवानले नै विशेष खुबी दिएका हुन्छन्,‘गड गिफ्टेड ट्यालेन्ट’। प्रिन्सको हकमा पनि यस्तै भयो। बाबु नारायण दाहाल पनि उ जमानाका क्षेत्रीय ब्याड्मिन्टन खेलाडी थिए। त्यसैले ब्याड्मिन्टन प्रिन्सको रगतमा नै थियो। जसलाई बाबुको हात समाउँदै उनले सानै उमेरमा निखार्ने काम गरे।
प्रिन्स भन्छन्,“ड्याडी सधैँ जसो ब्याड्मिन्टन खेल्न जानुहुन्थ्यो, ड्याडी कै पछाडि पछाडि जाँदा र खेलेको हेर्दा आफूलाई पनि खेल्न मन लाग्यो। शुुरुमा ड्याडीसँगै खेल्न सिकियो। बिस्तारै आफैँ ब्याड्मिन्टनमा नै लगाव बढ्दै गयो। लगातार खेल्दै गए र आज यहाँसम्म आइपुगे।”
दार्चुलाका जन्मेका उनले पाँच वर्षको उमेरदेखि नै ब्याड्मिन्टन खेल्न थालिसकेका थिए। हुने बिरुवाको चिल्लो पात भने झैँ नौ–दश वर्षको उमेरसम्ममा त उनले दार्चुलाबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेका थिए। त्यो बेला उनी यति राम्रो ब्याड्मिन्टन खेल्थे कि धेरैले उनमा भविष्यको स्टारको छनक देखिसकेका थिए।
यसपछि उनी दार्चुलाबाट पढाइको सिलसिलामा काठमाडौ आए। दिदी र मामासँग काठमाडौमा बस्दा उनको ब्याड्मिन्टन कौशलले निखारिने मौका पनि पायो भने कला देखाउने ठुलो मञ्च पनि पायो।
खेलकुद पृष्ठभूमि भएको परिवार भएकाले उनको प्रतिभा मर्न पाएन। परिवारकै साथ र सहयोगका कारण उनले खेललाई निरन्तरता दिइरहे।
प्रिन्सको खेलमा तब प्रकाश पर्न थाल्यो जब करिब १४ वर्षको उमेरमा नै सन् २०१७ को कुष्णमोहन ब्याडमिन्टन प्रतियोगिताको उत्कृष्ट खेलाडीको सूचिमा उनको नाम पनि आयो।
जुनियर प्रतियोगिताहरूमा उनले उपाधि थप्दै गए। यसपछि उनले परिवार र पूर्व खेलाडी रमेश शेर्पाको सहयोगमा थाइल्यान्डमा वैदेशिक प्रशिक्षण गर्न पाए। सन् २०१८ मा दुबई इन्टरनेशनल सिरिजमा यू–१५ तर्फ स्वर्ण जितेपछि उनले पछाडि फर्केर हेर्नु परेन।
यसपछि अर्को बर्ष पहिलो पटक विश्व वरियतामा परेका उनले करिब दुई वर्षको अन्तरालमा ३२ औ स्थानबाट नं १ स्थानमा फड्को मारे। अर्को बर्ष पनि दुबई इन्टरनेशनलमा त्यो बेलाका नं १ जुनियर भारतीय खेलाडीलाई पराजित गर्दै उनले उपाधि जिते।
घरेलु प्रतियोगितामा नेपालका सिनियरतर्फका नं १ खेलाडी रत्नजित तामाङलाई समेत पराजित गरिसकेका उनी २०१९ को १३ औ सागका पनि कांस्य पदक विजेता हुन्।
अबका दिनका चुनौती
भनिन्छ शिखरको चुचुरोमा पुग्न जति गाह्रो छ, त्यो भन्दा चुचुरोमा अडिरहन झन् कठिन हुन्छ। अब प्रिन्सलाई पनि चुनौती यही छ कि आउँदा दिनमा आफूले पाएको पहिलो वरियतालाई कसरी जोगाई राख्ने।
प्रिन्ससँग विश्व नं १ खेलाडी बनिराख्न अब बढिमा अर्को एक वर्षको समय छ। अरू कसैलाई उछिन्न दिएनन् भने अर्को एक बर्ष उनी जुनियरतर्फको विश्व नं १ खेलाडी बनिराख्ने छन्। त्यसपछि उनी पनि सिनियर खेलाडीको वरियतामा पुग्ने छन्।
त्यसपछिका चुनौती त झन् धेरै हुनेछन्। धेरै अनुभवी र पाका खेलाडीहरूसँग उनको टक्कर हुनेछ।
अबको एक वर्षमा आफ्नो शीर्ष वरियता जोगाइराख्न उनले विश्व ब्याड्मिन्टन महासंघ (बीडब्लूएफ) को मान्यता प्राप्त धेरै भन्दा धेरै प्रतियोगिताहरू खेल्नुपर्ने हुन्छ।
तर, फेरि कोभिडको संक्रमण विश्व भरिनै बढिरहेका कारण आसन्न प्रतियोगिताहरू हुन्छन् वा हुँदैनन् यसै भन्न सकिन्न। यदि यसरी नै कोभिडको कहर फेरि बढ्दै जाने हो भने कोभिड प्रोटोकल, क्वारेन्टाइन जस्ता विभिन्न कारणले उनले सबै प्रतियोगिता खेल्न पाउँछन् वा पाउँदैनन्, अन्योल नै छ।
फेरि धेरै प्रतियोगितामा सहभागिता जनाउनुको अर्थ धेरै पैसाको जोहो गर्नु पनि हो। विश्व भरि आयोजना हुने बीडब्लूएफ अन्तर्गतको प्रतियोगितामा सहभागिता जनाउन धेरै खर्च लाग्ने गर्छ। त्यसैले उनले सबै प्रतियोगिता खेल्न पाउने सम्भावना रहँदैन।
राष्ट्रिय खेलकुद परिषद् र नेपाल ब्याड्मिन्टन संघको सहयोगसँगै आफ्नो ब्याक्तिगत खर्च र केही प्रायोजकहरूको सहयोगमा उनले सीमित प्रतियोगिताहरूमा सहभागिता जनाउँदै आएका छन्।
प्रिन्स बताउँछन्,“नेपाल ब्याड्मिन्टन संघले कुनै कुनै प्रतियोगिताहरूमा खेल्न पठाउँछ, तर, वरियता जोगाइराख्न दुईतीन ओटा मात्र प्रतियोगिता खेलेर पुग्दैन, त्यसैले धेरैजसो प्रतियोगिता खेल्न आफ्नै पैसा हालेर बाहिर जाने गरेको छु।”
प्रशिक्षण र अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न जाँदा करिब ५० लाख जति व्यक्तिगत खर्च गरिसकेको उनले बताए। बीडब्लूएफ अन्तर्गतको धेरै प्रतियोगिता खेल्न पाए नं १ वरियता जोगाउन सक्ने उनको भनाइ छ। जसका लागि सबैको सहयोग आवश्यक छ।
त्यस्तै भविष्यका लागि नेपाली खेलकुद जगतले गरेको आशा पुरा गर्ने अर्को चुनौती पनि उनमा छँदैछ।
जुनियर तर्फको विश्व नं १ खेलाडी भइसकेपछि ब्याड्मिन्टन खेलले मात्र होइन नेपाली खेलकुदले नै उनीबाट भविष्यमा ठुला उपाधि राष्ट्रले पाउने सम्भावना देखेको छ।
विश्व भरिका हालका जुनियर खेलाडीले नै भविष्यमा सिनियर लेभलमा प्रतिस्पर्धा गर्ने हुन्।
बिशेषगरि नेपालले ओलम्पिकमा हालसम्म कुनै पनि मेडल जित्न नसकेको अवस्थामा यदि उनको हालको फर्मले निरन्तरता पाउन सके उनीबाट नेपालले पहिलो ओलम्पिक मेडलसम्मको आशा राखेको छ।
“हाल म नं १ पोजिसन जोगाउनुसँगै सन् २०२४ को ओलम्पिकमा पनि फोकस छु, त्यसको तयारीका लागि भने सिनियर प्रतियोगिताहरू खेल्नुपर्ने हुन्छ, अझै राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ जसका लागि अझै धेरै मिहेनत गर्नुपर्नेछ।” प्रिन्सले बताए।
उनी थप्छन्,“भविष्यमा सिनियर लेभलमा खेल्ने भनेको अहिले कै जुनियर र्याङकिङका खेलाडीले हो। राम्रो प्रशिक्षण गर्न पाएँ अझै आफूभन्दा सिनियर र राम्रो खेलाडीसँग खेल्न पाएँ भने ओलम्पिकमा राम्रो गर्न सक्छु जस्तो लाग्छ। यसका लागि परिवारसँगै सबैको सहयोग चाहिन्छ।”
उनी अझ खेल सुधार्न वैदेशिक प्रशिक्षणमा जाने योजना बनाइरहेका छन्। तर उनलाइै नै थाहा यो योजना सफल हुन्छ या हुँदैन। यसका लागि सबै सम्बद्ध निकायको साथ उनले खोजेका छन्।
उनी भन्छन्, “मैले आफ्नो लागि मात्र होइन देशको लागि पनि खेलेको हुँ, सधैँ आफूले मात्र खर्च गरेर सक्दैन, त्यसैले नेपाल सरकारले केही सहयोग गर्नुपर्छ जस्तो लाग्छ।”
विश्व वरियताको पहिलो स्थान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बन्दै उनले एउटा इतिहास त लेखिसकेका छन्। यदि सरकारसँगै सबैको सहयोग पाएमा उनी ओलम्पिक मेडल जित्ने पहिलो नेपाली खेलाडी बन्ने अर्को इतिहास रच्न पनि सफल हुनेछन्।
तस्वीर सबै प्रिन्स दाहालको फेसबुकबाट
Facebook Comment
Comment