भारतीय क्रिकेटमा विराट कोहली युगको अन्त्य !

कोहलीको होमा हो मिलाउने प्रशिक्षक फेरिए। पूर्वस्टार क्रिकेटरद्वय सौरभ गांगुली र राहुल द्रविड क्रमशः बोर्डको अध्यक्ष र टिमका प्रमुख प्रशिक्षक बनेपछि कोहलीका दिन पनि फेरिए।

भारतीय क्रिकेटमा विराट कोहली युगको अन्त्य !

काठमाडौ। कुनैबेला यस्तो समय थियो, भारतीय क्रिकेट टिम मात्र होइन भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) नै कप्तान विराट कोहलीको वरिपरि घुम्ने गर्थ्यो।

भारतीय क्रिकेटमा हुने हरेक निर्णयमा कोहलीको इच्छा नै सर्वोपरि हुन्थ्यो। मानौ उनी राष्ट्रिय टिमका कप्तान मात्र होइनन् कि बीसीसीआई कै प्रमुख हन्। टिममा कुन खेलाडी छनोट गर्ने र कसलाई टिम बाहिर राख्नेदेखि लिएर खेलाडीलाई दिइने सुविधा, तलब, बिदालगायत बोर्डले हरेक निर्णय गर्दा उनकै बोलीको अनुशरण गरिरहेको हुन्थ्यो।

त्यो बेला भारतीय क्रिकेटकै सवार्धिक बलिया शक्ति केन्द्र थिए कोहली। तर समयले कोल्टे फेर्‍यो। कोहलीले जे भन्यो त्यही मान्ने बोर्डका अध्यक्ष फेरिए।

कोहलीको होमा हो मिलाउने प्रशिक्षक फेरिए। पूर्वस्टार क्रिकेटरद्वय सौरभ गांगुली र राहुल द्रविड क्रमशः बोर्डको अध्यक्ष र टिमका प्रमुख प्रशिक्षक बनेपछि कोहलीका दिन पनि फेरिए।

पहिले कोहलीले क्रिकेट बोर्डलाई आफूअनुकूल नचाएका थिए। अहिले आएर त्यही बोर्डले यस्तो वातावरण सिर्जना गर्‍यो कि गत चार महिनाको अन्तरालमा कोहलीले राष्ट्रिय टिममा तीनओटै फर्म्याटको कप्तानी छाड्नुपर्यो, वा भनौं उनलाई छाड्न बाध्य पारियो।

दक्षिण अफ्रिकासँगको टेष्ट श्रीङ्खला २–१ ले हारेको भोलिपल्ट, शनिबार कोहलीले टेष्ट टिमको कप्तानीबाट राजीनामा घोषणा गरे।

टेष्ट टिमको कप्तानी छाड्दै कोहलीले भने, “हरेक कुराको अन्त्य हुने एक क्षण आउँछ र मेरा लागि भारतको टेष्ट कप्तानको रुपमा त्यो अहिले हो। यो यात्रा दौरान केही उतारचढाव आए होलान तर कहिले पनि खेलमा विश्वास र प्रयासको कमी भएन।”

केही समय अघिदेखि चलिरहेको क्रिकेट बोर्डसँगको आन्तरिक द्वन्द्वले उनले सबै यति छोटो समयमा सबै फर्म्याटको कप्तानी छाड्नुपर्ने वातावरण बन्यो। गत सेप्टेम्बरमा मात्र उनले ओर्क लोड परेका कारण टी–ट्वान्टी टिमको कप्तानी छाड्ने तर एकदिवसीय र टेष्ट टिमको कप्तानीलाई निरन्तरता दिने घोषणा गरेका थिए।

तर डिसेम्बर मै उनलाई एकदिवसीय टिमको कप्तानको रुपमा पनि हटाएर भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले रोहित शर्मालाई नयाँ कप्तान बनायो।

यो विषयमा बीसीसीआईका अध्यक्ष सौरभ गांगुलीले बताएका थिए, ‘ह्वाइट बल क्रिकेटमा दुई छुट्टाछट्टै कप्तान राख्नु टिम छनोटकर्तालाई सही लागेन। त्यसैले टी–ट्वान्टी कप्तानी छाडेपछि कोहलीलाई एकदिवसीय कप्तानको भुमिकाबाट पनि हटाइएको हो।’

क्रिकेटको टी–ट्वान्टी र एकदिवसीय दुवै फर्म्याट ह्वाइट बलले खेलिन्छ भने प्रायः उस्तै शैलीको खेल भएकाले यी दुवैको कप्तान एउटै व्यक्तिलाई बनाउने गरिन्छ। त्यस्तै रेड बलले खेलिने टेष्ट म्याच भने केही भिन्न शैलीको खेल भएकाले प्रायः ठूला टिमले टेष्ट टिमको लागि भने भिन्न कप्तान राख्ने गर्छन्।

त्यसैले बीसीसीआईले पहिले नै विराटलाई टी–ट्वान्टीको कप्तानी नछाड्न भनेको गांगुलीको प्रतिक्रिया थियो।

तर कोहलीले एक पत्राकार सम्मेलन दौरान यसको ठीकविपरीत अवस्थाको बयान गरेका थिए। उनले टी–ट्वान्टीको कप्तानी छाड्नु कुनै एकै पटकको निर्णय नभई बीसीसीआईको लगातारको घटनाक्रमले बाध्य बनाएको तथ्य खोलेका थिए।

त्यस्तै आफूलाई कसैले पनि कप्तानी छाडेको विषयमा पुनर्विचार गर्नसमेत नभनेको उनको भनाइ थियो।

यसको अर्थ टी–ट्वान्टीको कप्तानी पनि उनले बोर्डको दबाबमा नै आएर छोडेको स्पष्ट हुन्छ। लगातारको खराब प्रदर्शनका कारण धेरै जानकारहरूले कम्तीमा टी–ट्वान्टीको कप्तानी आईपीएलमा सर्वाधिक सफल कप्तानी रोहित शर्मालाई दिनुपर्ने वकालत गर्दै आएका थिए।

दबाबमा टी–ट्वान्टीको कप्तानी छाडेपछि एकदिवसीय टिमको कप्तानीबाट पनि उनी बर्खास्त भए।

उनलाई एकदिवसीय टिमको कप्तानीबाट हटाउँदा समेत बीसीसीआईले कुनै सल्लाह नगरी मात्र ९० मिनेट अगाडि जानकारी गराएर पदमुक्त गरेको कोहलीले बताएका छन्।

कोहलीले टेष्ट टिमको कप्तानी छाडेपछि भारतका पूर्वकप्तान सुनिल गावास्करले अर्को तथ्य पनि खोले, ‘दुई महिनाको अन्तरालमा दुई पटक कप्तानी पदबाट बर्खास्त हुने सम्भावना देखेर नै कोहोलीले सायद आफैंले टेष्ट टिमका कप्तानी छाडेको हुनसक्छ।’

यसको अर्थ सायद बीसीसीआई उनलार्य टेष्ट टिमको कप्तानीबाट पनि बर्खास्त गर्ने तयारीमा थियो।

यो सबै घटनाले अन्त्यमा यो प्रमाणित भयो कि कुनै पनि देशमा कुनै पनि खेलको नियमक निकाय, संघ वा बोर्डभन्दा खेलाडी कहिले पनि ठूलो हुन सक्दैन। त्यो खेलाडी जतिसुकै ठूला स्टार नै किन नहोस्। अभिभावक संस्थाभन्दा माथि खेलाडी रहन सक्दैन।

कोहलीको कप्तानी

सन् २०१५ मा महेन्द्र सिंह धोनीको संन्याससँगै कोहली भारतीय टेष्ट टिमको कप्तान बनेका थिए। उनको टेष्ट कप्तानीलाई निकै सफल नै मानिन्छ।

उनी भारतको क्रिकेट इतिहासमा सबैभन्दा सफल टेष्ट कप्तान हुन्। उनको कप्तानी खेलेका कुल ६८ खेलमा भारतले ४० खेल जितेको रेकर्ड छ भने १७ हार र ११ बराबरी खेलेको छ।

उनीपछि धोनीको कप्तानीमा भारतले खेलेको ६० टेष्ट खेलमा मात्र २७ खेल जितेको तथ्यांक छ।

टेष्ट कप्तानको रुपमा जितको आधारमा उनी विश्वकै चौथो सफल कप्तानमा पर्छन्।

त्यस्तै उनकै कप्तानीमा भारत नं १ टेष्ट राष्ट्र बन्न पजि सफल भएको थियो। सन् २०२१ को पहिलो विश्व टेष्ट च्याम्पियनसिपको फाइनलसम्म पनि उनले टिमलाई पुर्‍याएका थिए।

एकदिवसीय खेलमा भने उनको कप्तानीमा भारतले ९५ खेलमा ६५ खेल जितेको छ। टी–ट्वान्टीमा भने ४५ खेलमा उनले भारतलाई २७ खेलमा जित दिलाएका छन्। तीन आटै फर्म्याटमा उनको जितको प्रतिशत ५० भन्दा माथि छ।

भनिन्छ कोभिड शुरु भएदेखि नै कोहलीको दुर्दशा शुरु भएको हो। नोभेम्बर २०१९ पछि कोहलीले कुनै पनि फर्म्याटको क्रिकेटमा शतक प्रहार गर्न सकेका छैनन्। दुई वर्ष बढी भइसक्यो उनी आफ्नो ७१ औ शतकको खोजीमा रहेको। जबकि सचिन तेण्डुलकरको नाउँमा रहेको धेरै कीर्तिमान मध्ये १०० शतकको कीर्तिमान उनले मात्र तोड्न सक्ने धेरै भारतीय क्रिकेट विज्ञहरूको अनुमान थियो।

कोहली कुनै बेला भारतीय टिमको तिनै फर्म्याटका कप्तान र क्रिकेटका एक मात्र हर्ताकर्ता थिए। स्वाभावले नै कोहली कसैसँग झुकेर वा डगमगाएर अघि बढ्ने खालका खेलाडी हैनन्। उनी आफैं ‘डोमिनेन्ट’ प्रकृतिका खेलाडी हुन्।

हाल कप्तानी छाडेजस्तै कोहलीले कुनै दिन खेलाडीको रुपमा पनि राष्ट्रिय टिमबाट फ्याट्ट सन्यासको घोषणा गर्न सक्छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved