लमजुङ । जिल्लामा यस वर्ष अलैंची उत्पादनमा कमी आएको छ। आवश्यकता अनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो।
गत वर्षको तुलनामा यो वर्ष करिब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैँची जोन कार्यालय लमजुङले जनाएको छ। कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४०० मेट्रिक टन अलैँची उत्पादन भएको थियो। यस वर्ष अलैंचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सिमित भएको छ । गत वर्ष अलैंचीको विक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका किसानले यो वर्ष रु तीन करोड ५० लाख मात्र आम्दानी गर्न सकेको कार्यालयले जनाएको छ।
यसवर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिँचाइको कमीलगायतका कारण अलैँची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताए। मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैँची किसानसमेत रहेका संयोजक तामाङले गतवर्ष ४५० केजी अलैँची दाना उत्पादन भएकोमा यो वर्ष २०० केजी मात्र उत्पादन भएको बताए।
त्यस्तै, बेँसीशहर नगरपालिका–१० खाँचेका अलैँची किसान सोमबहादुर तामाङको पनि समस्या तथा उत्पादन उस्तै उस्तै भएको छ। तामाङले गतवर्ष करिब २०० किलो अलैँची दाना उत्पादन गरेको र योवर्ष भने जम्मा ३२ किलो मात्र अलैँची उत्पादन भएको बताए। अलैँची उत्पादन घटेपनि मूल्य भने वृद्धि भएको छ।
गतवर्ष ४५० किलो अलैँची दाना बिक्रीबाट रु दुई लाख ७० हजार आम्दानी गर्नुभएको छिनेखोलाका तामाङले यो वर्ष २०० किलो अलैँची दाना बिक्रीबाटै रु दुई लाख २० हजार आम्दानी गरेका हुन्। खाँचेका तामाङले गतवर्ष रु एक लाख २० हजार आम्दानी भएकाेमा यो वर्ष रु ३५ हजार मात्र आम्दानी गरेको बताए।
गतवर्ष प्रतिकिलो रु ५०० देखि ६०० मा अलैंचीको दाना बिक्री गरेका किसानले यो वर्ष रु एक हजार ५० देखि एक हजार १०० सम्म बिक्री गरेका छन्। अलैंची जोन कार्यलयका अनुसार जिल्लामा गत वर्ष एक हजार ६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार भएको थियो भने चार सय ७९ हेक्टर जमिनमा मात्रै अलैंची उत्पादन भएकोे थियो।
व्यवसायिक खेती हुँदै आएको लेकाली क्षेत्रहरूमा अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमा समेत गिरावट हुँदा किसानहरु निराश बनेका छन्। दशकअघि प्रतिकेजी रु २ हजार ५ सयसम्म रहेको अलैंचीको मूल्य अहिले प्रतिकिलो रु आठ सयदेखि नौसयको हाराहारीमा छ।
Facebook Comment
Comment