बंगलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिबलाई पाकिस्तानमा खेल्न अनुमति

नेपालभ्युज

बंगलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिबलाई पाकिस्तानमा खेल्न अनुमति

ढाका । बंगलादेशका अपदस्थ सांसद एवं क्रिकेटर शकिब अल हसनलाई बुधबार पाकिस्तानमा राष्ट्रिय टोलीबाट खेल्न अनुमति दिइएको छ ।

बंगलादेशका पूर्वकप्तान शकिबले जनवरीमा कुनै पनि वास्तविक विरोधबिना सम्पन्न निर्वाचनपछि अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीको विधायकका रूपमा पदभार ग्रहण गरेका थिए ।

विद्यार्थीहरूको नेतृत्वमा भएको राष्ट्रिय विद्रोहको नाटकीय निष्कर्षका रूपमा हसिनाले अचानक राजीनामा दिँदै हेलिकप्टरमार्फत भारत भागेसँगै संसद् भङ्ग भएपछि शकिबले सांसद पद गुमाएका थिए ।

ती विद्यार्थीहरूमध्येका एक अहिले अन्तरिम सरकारमा वास्तविक खेलमन्त्री रहेका २६ वर्षीय आसिफ महमुदले हसिना र अवामी लिगसँगको सम्बन्धका बावजुद शकिबलाई टोलीमा रहन अनुमति दिएका छन् ।

“हामीले खेलकुद सल्लाहकारसमक्ष टोलीलाई प्रस्तुत गर्यौँ”, बङ्गलादेश क्रिकेट बोर्ड (बिसिबी) का निर्देशक इफ्तिखर अहमदले भने, ‘उहाँले शकिबलाई समावेश गरेकामा विरोध गर्नुभएन, उहाँले योग्यताका आधारमा टोली गठन हुनुपर्ने बताउनुभयो ।”

हसिनालाई सत्ताबाट हटाउने र्यालीहरू आयोजना गर्ने स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसनका प्रमुख सदस्यमध्ये महमुद एक थिए । उनी र साथी विद्यार्थी नेता नाहिद इस्लाम दुवै नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा हसिना भागेपछि पदभार ग्रहण गर्ने सल्लाहकार मन्त्रिपरिषदका सदस्य हुन् ।

लाहोरको गद्दाफी क्रिकेट रङ्गशालामा बुधबार ३७ वर्षीय शकिबलाई प्रशिक्षण गर्दै गरेको देखिएको थियो । हसिनाको राजीनामापछि उनी देखिएका थिएनन् । उनी क्यानाडाबाट सिधै पाकिस्तानमा बङ्गलादेशी टोलीमा सामेल भए । क्यानाडामा उनले टि–२० प्रतियोगिता खेल्दै थिए ।

घर आउनुपर्थ्यो

शकिब सामान्यता फेसबुक प्रयोगकर्ता हुन् । तर उनले विरोध प्रदर्शनहरूमा घातक प्रहरी कारवाही सुरु भएको दुई दिनअघि जुलाई १४ पछि कुनै सार्वजनिक पोस्ट गरेका छैनन् ।

“एक विधायकको हैसियतमा शकिब सामूहिक हत्याको जिम्मेबारीबाट बच्न सक्नुहुन्न”, हसिनाको पदभार ग्रहण गर्नुअघि सेवा गरेका बिसिबीका पूर्वसदस्य रफिकुल इस्लामले भने, “विद्यार्थी मारिने क्रममा उहाँले कहिल्यै विरोध गर्नुभएन, यीमध्ये धेरै विद्यार्थीले उहाँलाई आइकन ठान्थे, उहाँले पहिला घर आउनुपर्थ्यो र किन मौन बसेको भन्नेबारे स्पष्टीकरण दिनुपर्थ्यो ।”

रफिकुल मंगलबार बङ्गलादेशको मुख्य क्रिकेट स्थल शेर–ए–बाङ्गला राष्ट्रिय रङ्गशालामा बिसिबीको मुख्यालयबाहिर विरोध प्रदर्शनमा सहभागी  भए ।

उनी र अन्य खेल प्रशासकहरूले हसिनाको वफादार भएको आरोप लागेका क्रिकेट बोर्डका सदस्यहरूलाई हटाउन माग गरे । समूहले सोमबार विज्ञप्तिमा भनेको छ, “कुव्यवस्थापन, निरङ्कुश व्यवहार र बेलगाम भ्रष्टाचारले बङ्गलादेश क्रिकेट पछि परेको छ ।” एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved