काठमाडौं । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले सामुदायिक सम्पत्तिमा समुदायको पनि साझेदारी हुनुपर्ने बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित ‘दुई दिने किरात लिपि प्रशिक्षण कार्यक्रम’लाई सम्बोधन गर्दै अध्यक्ष राईले यस्तो बताएका हुन् । “समुदायको पनि सम्पत्ति हो भने उसले पनि अपनत्व महसुस गर्नुपर्छ । दुई रुपैयाँ, पाँच रुपैयाँ, दुई लाख, दश लाख जति सकिन्छ, समुदायबाट उठाइनुपर्छ,” अध्यक्ष राईले भने ।
अगाडि उनले भने, “विकास निर्माणका काम छुट्टै हुन्छ तर, भूमे निर्माणका लागि, गुम्बा निर्माणका लागि नै अरबौँ बजेटको माग भइदिन्छ । मागलाई अलिकति कन्ट्रोल गर्नका लागि पनि समुदायको साझेदारी मैले खोजेँ । मैले कार्यविधि नै त्यसैगरी बनाएको छु ।”
नपुगेको ठाउँमा सरकार (स्थानीय सरकार) सधैँ साथमा रहेको उनले बताए । “मैले नेतृत्व गरेको सरकार प्रत्येक समुदायको सरकार हो । नपुगेको ठाउँमा सरकार छँदैछ,” अध्यक्ष राईले भने ।
यसैबीच फरक प्रसङ्गमा अध्यक्ष राईले सिरिजङ्गा लिपि (किरात लिपि) को सर्वस्वीकार्यता बढाउनुपर्नेमा जोड दिए । सिरिजङ्गा लिपिको इतिहास खोतल्दै उनले भने, “जित्नेहरूले लेखेको इतिहासमा अघिल्लो पहिचान र योगदानहरूलाई नामेट पारिएको पुष्टि हुँदै आएको छ । त्यसकारण हामी यहाँसम्म अन्धाधुन्ध आएका छौँ । यसलाई सामाजिक अभियानका रूपमा अगाडि लगेर लिपिको सर्वस्वीकार्यता बढाउनुपर्छ ।”
अध्यक्ष राईले लिपिको प्रयोग बढेपछि स्वाभाविक रूपमा त्यसको सर्वस्वीकार्यता बढ्ने र त्यसमा सबै मिलेर लाग्नुपर्ने बताए ।
अध्यक्ष राईले आफूले नेतृत्व गरेको स्थानीय सरकारले प्रयोग गर्ने गरेको लेट्टरहेडमा पनि अनुकूलमा चाँडै सिरिजङ्गा लिपिको प्रयोग गर्ने सङ्केत गरे । आफूले पहिल्यै प्रयोग गर्नेबारे केही चरण छलफलसमेत गरेको तर, त्यसबारेको गलत ‘न्यारेटिभ’ र सर्वस्वीकार्यताको प्रश्नका कारण आफू अडिएको उनले प्रष्ट्याए ।
Facebook Comment
Comment