काठमाडौं । भारतको पश्चिम बंगाल राज्यका पूर्वमुख्यमन्त्री बुद्धोदेव भट्टाचार्यको निधन भएको छ । ८० वर्षीय भट्टाचार्यको कोलकातास्थित आफ्नै निवासमा बिहीबार निधन भएको हो ।
पश्चिम बंगालको ३४ वर्षे कम्युनिष्ट पार्टीको सरकारको अन्तिम करिब १० वर्ष उनी मुख्यमन्त्री थिए । चर्चित कम्युनिष्ट नेता तथा लामो समयका मुख्यमन्त्री ज्योति बसुको उत्तराधिकार रुपमा उनले पश्चिम बंगालमा शासन गरेका थिए ।
उनी भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का वरिष्ठ नेता थिए । उनी सन् १९८५ मा पार्टीको केन्द्रीय सदस्य बनेका थिए । सन् २००२ देखि सन् २०१५ सम्म उनी पार्टी पोलिटब्यूरो सदस्य थिए ।
ज्योति बसु शासनकालमै उनलाई उप–मुख्यमन्त्री बनाइएको थियो । पश्चिम बंगाल सरकारमा दशकौंसम्म कयौं मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
भट्टाचार्यकै शासनकालमा पश्चिम बंगालमा कम्युनिष्ट पार्टीको आरोलो यात्रा प्रारम्भ भएको थियो । पश्चिम बंगालमा अहिले कम्युनिष्ट पार्टी निक्कै कमजोर भएको छ ।
उनी प्रदेशको पुन:औद्योगिकीकरण गर्न चाहन्थे । यसका लागि उनले सिंगुर तथा नन्दीग्राम जग्गा अधिग्रहण प्रयास गरेका थिए । यही प्रक्रियामा भड्किएको दंगा र जनअसन्तोषले पश्चिम बंगालको ३४ वर्ष लामो कम्युनिष्ट शासन अन्त्य भएको थियो ।
सन् २०१८ यता उनी राजनीतिक रुपमा निस्क्रिय जीवन बिताइरहेका थिए । भट्टाचार्यको कार्यकाललाई पश्चिम बंगाल राजनीतिको एक ऐतिहासिक मोड मानिन्छ ।
उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी, मुख्यमन्त्री ममता बेनर्जी, पार्टी महासचिव सीताराम येचुरीलगायतले श्रद्धान्जली व्यक्त गरेका छन् ।
पार्टी महासचिव येचुरीले भनेका छन्–‘बुद्ध दाको खबरले म स्तब्ध छु । पार्टी, पश्चिम बंगाल र हाम्रा साझा आदर्शप्रति समर्पण र अगाडि हेर्न सक्ने उनको क्षमताले सधै ध्रुवताराको काम गर्ने छ ।’
उनको परिवारमा पत्नि मीरा र एक छोरी सुचेतना छन् ।
Facebook Comment
Comment