काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान सुर्खेत उडान भर्ने क्रममा रहेको श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएको छ । उक्त विमान धावनमार्गबाट उड्नै लाग्दा फर्काएर पार्किङमा ल्याइएको थियो ।
आज बिहान ७ः३० बजे सुर्खेत उडान तालिका रहेको उक्त विमान धावनमार्गमा पुगेर फर्किएको विमानका यात्रु राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विनीता कठायतले जानकारी दिइन् ।
‘विमानका यात्रुको बोर्डिङ सकेर विमान धावनमार्गमा ‘टेकअफ’को अन्तिम ‘प्वाइन्ट’मा पुगिसकेको थियो । एक्कासि विमान फर्काएपछि यात्रुले विमान किन फर्काएको भनी जिज्ञासा राख्दा प्राविधिक कारणले फर्काइएको विमानका कर्मचारीले जवाफ दिए,’ उनले भनिन् ।
सांसद कठायतले विमान धावनमार्गबाट उड्नै लाग्दा फर्काइनु एयरलाइन्सको लापरबाही भएको दाबी गरिन् ।
श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले भने विमानका केही यात्रुबीच विवाद भएपछि विमान फर्काएर अहिले सुर्खेत उडानको तयारीमा रहेको बताए ।
‘प्राविधिक समस्याका कारण होइन, दुई–चारजना यात्रीबीचको विवादले होहल्ला भएपछि पाइलटले विमान फर्काएका हुन्,’ उनले भने ।
पछि सोही विमानमार्फत यात्रीहरु बोर्डिङ भएर गन्तव्यमा उडेका छन् ।
Facebook Comment
Comment