काठमाडौं । इजरायलमा यस्ता अभिभावकको संख्या बढ्दै गएको छ, जो आफ्ना मारिएका सिपाही छोराको वीर्य जोगाउन चाहन्छन् ।
गत वर्षको अक्टोबर ७ मा हमासको हमलापछि यस सम्बन्धमा नियम केही खुकुलो भएपनि लामो कानुनी प्रक्रियाका कारण परिवारजनमा आक्रोश र असन्तुष्टि छ ।
जब अवि हारूस आफ्ना २० वर्षीय छोरा रीफलाई सम्झन्छन्, उनको आवाज डगमगाउन थाल्छ । इजरायली सेना रीफ यसै वर्ष अप्रिल ६ मा गाजा पट्टीमा लडाइँका क्रममा मारिएका थिए ।
अविको घर पुगेका सेनाका अफिसरहरूले विकल्प ल्याएका थिए । उनीहरूले रिफको शुक्राणु जोगाउन पर्याप्त समय भएको बताएका थिए । साथै, रिफको परिवार यसका लागि तयार छन् कि भनेर सोधेका थिए ।
रीफका बुबा अवि तुरून्तै यसमा सहमत भए । अवि भन्छन् ‘रीफ आफ्नो जीवन पूर्ण रूपमा बाँच्यो र यो हानिको बावजुद हामीले बाँच्न रोज्यौं, रीफले बच्चाहरूलाई माया गर्थो, उ आफ्नै बच्चाहरू चाहन्थ्यो ।’
जीवनको मिशन
रिफको कुनै श्रीमती वा प्रेमिका थिएनन् । तर, जब बुबा अविले आफ्नो छोरा रिफको कथा साझा गरे तब धेरै महिलाहरू अगाडि आए र रीफको बच्चालाई जन्म दिन आफूहरु तयार रहेको प्रस्ताव गरे ।
अवि भन्छन्, ‘यो विचार अब उन(रिफ)को जीवनको मिसन हो ।’
गत वर्ष अक्टोबर ७ मा भएको आक्रमणपछि आफ्ना छोराको शुक्रकीट जोगाउन चाहने धेरैमध्ये अविको परिवार एक हो । उक्त हमलामा करिब १२०० जनाको मृत्यु भएको थियो भने गाजामा करिब २५१ जनालाई बन्धक बनाइएको थियो ।
जवाफमा इजरायलले गाजामा ठूलो मात्रामा सैन्य कारबाही सुरु गरेको थियो । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली कारबाहीमा अहिलेसम्म ३९ हजारभन्दा बढी प्यालेस्टाइनी मारिएका छन् ।
इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार गत वर्षको अक्टोबर ७ मा भएको हमलादेखि अहिलेसम्म सैनिक र सर्वसाधारण दुवैसहित देशका करिब १ सय ७० युवाको शुक्रकीट सुरक्षित गरिएको छ । यो संख्या एक वर्ष अघिको तुलनामा झण्डै १५ गुणा बढी हो ।
यस प्रक्रियामा मृतक सैनिकको अण्डाशयमा चीरा बनाइन्छ र त्यसबाट कोशिकाको सानो भाग निकालिन्छ, जसबाट जीवित शुक्रकीट कोशिकाहरूलाई पृथक गरी प्रयोगशालामा जम्मा गरिन्छ ।
यदि यी कोशिकाहरू मृत्युको २४ घण्टा भित्र निकालिएमा तिनीहरूको भविष्यमा प्रयोगको लागि उच्चतम सफलता दर हुन्छ । यद्यपि यी कोशिकाहरू ७२ घण्टासम्म बाँच्न सक्छन् ।
अक्टोबरमा इजरायलको स्वास्थ्य मन्त्रालयले यस प्रक्रियामा आमाबुवाको लागि अदालतको आदेशको आवश्यकतालाई छुट दिएको थियो ।
छोराको मृत्युको पीडा
रेचेल र याकोभ कोहेन आफ्नो सिपाही छोराको शुक्रकीट जोगाउने पहिलो इजरायली अभिभावक हुन् । इजरायली डिफेन्स फोर्सका अनुसार केभिनलाई सन् २००२ मा गाजा स्ट्रिपमा प्यालेस्टिनी स्नाइपरले निशाना बनाइएको थियो ।
उक्त शुक्रकीटको सहयोगमा राहेल र याकोभ कोहेनको नातिनी(ओशर) जन्मियो ।
केभिनको मृत्युपछि रेचेललाई के भयो भन्ने बारेमा उनले भनिन्, ‘मैले उनको अलमारी खोलें । उसको सुगन्ध खोज्न चाहँन्थी । यहाँसम्म कि मैले यसको जुत्तासमेत सुघेँ । केभिनको तस्वीर मसँग बोल्यो । केभिनले मलाई मेरो बच्चाहरू छन् भनी सुनिश्चित गर्न आग्रह गरे ।’
रेचेल भन्छिन्, ‘धेरै विरोधको सामना गर्नुपऱ्यो तर, ऐतिहासिक कानुनी निर्णयपछि छोराको बच्चाको लागि सम्भावित आमा खोज्दै विज्ञापन निकालियो ।’
आफ्नो परिवारको गोपनीयतालाई ध्यानमा राख्दै इरितले आफ्नो पूरा नाम खुलासा गरिनन् । यो विज्ञापनपछि रेचेललाई सम्पर्क गर्ने धेरै महिलामध्ये उनी एक थिइन् ।
इरित पनि अविवाहित थिइन् । मनोवैज्ञानिक र सामाजिक कार्यकर्ताले राम्रोसँग जाँच गरेपछि अदालतको अनुमति पाएपछि उनको प्रजनन उपचार सुरु गरिएको उनी बताउँछिन् ।
इरितले भनिन्, ‘केही मानिसहरूले भनेका थिए कि हामी भगवानसँग खेलिरहेका छौं । तर, मलाई त्यस्तो लागेन । आफ्नो बुवालाई चिनेको बच्चा र स्पर्म बैंक दान गरेर जन्मेको बच्चामा फरक छ ।’
ओशरलाई थाहा छ उसको बुबा सेनामा मारिएका थिए । उनको कोठा डल्फिनले सजाइएको छ । ओशरलाई थाहा छ उसको बुबा डल्फिनलाई माया गर्थे ।
ओशर भन्छन्, ‘मलाई थाहा छ कि उहाँको शुक्राणु निकालिएको थियो र मलाई यो संसारमा ल्याउनको लागि सबैभन्दा राम्रो आमा भेटियो ।’
यता, इरित भन्छिन्, ‘ओशरलाई दुवै तर्फबाट हजुरबुवा, काका र काकाको आशीर्वाद पनि छ । ओशरलाई अरू बच्चाहरू जस्तै हुर्काइएको छ, त्यसैले यो जीवित सम्झना बनेको जस्तो लाग्दैन ।’
सहमतिको प्रश्न
शमिर मेडिकल सेन्टरको शुक्रकीट बैंकका निर्देशक डा. इटाई गुट भन्छन्, ‘मृतक छोराको शुक्रकीट जोगाउनु आमाबुवाको लागि ठूलो महत्त्व छ ।’
उनी थप भन्छन्, ‘भविष्यको प्रजनन विकल्पहरू जोगाउने यो अन्तिम मौका हो । संस्कृतिमा उल्लेख्य परिवर्तन आएको छ, समाजमा यो प्रक्रियाप्रति स्वीकृति बढेको छ । तर, अहिलेको नियमले एकल पुरूषको हकमा द्वन्द्व सिर्जना गरेको छ ।’
‘धेरै पटक यसका लागि सहमतिको कुनै स्पष्ट रेकर्ड छैन । यसले छोराको वीर्य जोगाएर राखे पनि सन्तान जन्माउन प्रयोग गर्न नसक्ने परिवारको पीडा झनै बढाउँछ । हामी प्रजननको बारेमा कुरा गर्दैछौं, केटा वा केटीलाई यो संसारमा ल्याउने…हामीलाई थाहा छ कि बुवा बिना, उ वा उनी अनाथ हुनेछन् ।’
धेरैजसो अवस्थामा मृतकलाई आफ्नो वीर्यबाट जन्मेको बच्चाको आमाको बारेमा थाहा नहुने उनको भनाइ छ । बच्चाको शिक्षा र भविष्यसँग सम्बन्धित सबै निर्णय आमाले लिनुपर्छ ।
यसअघि आफ्नो तर्फबाट स्पष्ट सहमति नभएको अवस्थामा मृतकको वीर्य बचाउन विरोध गर्ने गरेको डा. गुट बताउँछन् । तर, अहिलेको युद्धमा मारिएका सैनिकका अभिभावकलाई भेटेपछि उनको अडानमा केही परिवर्तन आएको छ ।
उनी भन्छन्, ‘मैले बुझें कि यो उनीहरूको लागि कत्तिको अर्थपूर्ण छ, कहिलेकाहीँ उनीहरूले यसबाट ठूलो सान्त्वना पाउँछन् ।’
विभिन्न विचार
तेल अवीवका यहूदी मूल्यमान्यताका प्रख्यात अधिवक्ता रब्बी युवल शेर्लोले पनि मृतकको स्वीकृति महत्त्वपूर्ण पक्ष भएको बताउँछन् । उनले दुई महत्त्वपूर्ण यहूदी सिद्धान्तहरू पनि उल्लेख गरे, जसमा व्यक्तिको विरासत जारी राख्नु र सम्पूर्ण शरीरलाई गाड्नु समावेश छ ।
केही रब्बी(धार्मिक नेतृत्वको भूमिका)हरू छन्, जसले परिवारलाई अगाडि बढाउन महत्त्वपूर्ण मान्दछ । त्यसैले मृत शरीरबाट कोशिकाहरू निकाल्दा कुनै हानि हुँदैन भन्ने विश्वास छ । तर, त्यहाँ केही रब्बीहरू छन्, जो यो सम्पूर्ण प्रक्रियाको विरूद्ध छन् ।
यस विषयमा हालका नियमहरू महान्यायाधिवक्ताले सन् २००३ मा प्रकाशित निर्देशिकामा दिएका थिए तर, कानुनको बल भने छैन ।
इजरायली सांसदहरूले यस विषयमा थप स्पष्ट र व्यापक नियमहरूसहितको विधेयकको मस्यौदा तयार गर्ने प्रयास गरेका थिए तर, तिनीहरूको प्रयासले प्रगति गर्न सकेनन् ।
यस प्रक्रियालाई राम्ररी चिन्ने र बुझेका मानिसहरूका अनुसार मृतकको सहमतिमा मतभेदहरू थिए । यस प्रक्रियाबाट जन्मिएका बालबालिकाले सेवामा मारिएका अन्य सैनिकका छोराछोरीले सरह लाभ पाउँछन् कि छैनन् भन्ने विषयमा पनि मतभिन्नता देखिएको छ ।
इजरायली मिडियाअनुसार पनि मारिएका सिपाहीको विधवा र तिनका आमाबुवाको बच्चाको आवश्यकतालाई लिएर मतभेद छ ।
मृतक छोराको शुक्रकीटमा आमाबुवाको के अधिकार हुनुपर्छ भन्ने विषयमा असहमति रहेको छ । विशेष गरी यदि छोराको विधवाले आफ्नो पतिको शुक्रकीटलाई बच्चा जन्माउन प्रयोग गर्न चाहिनन् भने ।
आफ्नो स्वर्गीय छोराको शुक्रकीट सुरक्षित राखेका अभिभावकहरू कानुन बनेपनि सहमतिको समस्या मात्रै समाधान हुने चिन्तामा छन् । यसले उनीहरूलाई अदालतमा लामो कानुनी लडाइँबाट बचाउने छैन ।
तर, रीफका बुबा अवि आफ्नो नियतमा अडिग छन् । अवि भन्छन्, ‘रीफको बच्चा नजन्मेसम्म हामी लागिरहन्छौं ।’ –बीबीसी
Facebook Comment
Comment