बैंककस्थित नेपाली दूतावासको चेतावनी : पर्यटन भिसामा आएर अरू देशमा काम गर्न नजानुस्

नेपालभ्युज

बैंककस्थित नेपाली दूतावासको चेतावनी : पर्यटन भिसामा आएर अरू देशमा काम गर्न नजानुस्

बैंकक, थाइल्यान्ड । बैंककस्थित नेपाली राजदूतावासले नेपाली नागरिकहरूलाई पर्यटक भिसामा वैदेशिक रोजगारीको प्रलोभनमा नफस्न चेतावनी दिएको छ ।

एक सूचना जारी गर्दै दूतावासले थाइल्यान्डमा भिटिज भिसामा बोलाएर अरू देशमा गैरकानुनी रूपमा काममा लगाउने कार्य बढेको भन्दै सो प्रलोभनमा नफस्न भनेको हो ।

दूतावासले भनेको छ, ‘‘सामाजिक सञ्जालमा थुप्रै कम्पनी, व्यवसायी तथा डिजिटल मार्केटिङ क्षेत्रका केही व्यक्ति तथा समूहले आकर्षक तलब सुविधा दिने भन्दै थाइल्यान्ड हुँदै म्यानमार, कम्बोडिया, र लाओसमा गैरकानुनी रूपमा काममा लगाउने कार्यमा संलग्न भएको जानकारी प्राप्त भएको छ ।’’

दूतावासको सूचनामा वैदेशिक रोजगारीको नाममा पर्यटक भिसामा थाइल्यान्ड ल्याएर कामदार भिसा उपलब्ध गराउने, र अन्य मुलुकमा रोजगारीको अवसर दिने भनेर प्रलोभनमा पारेर गैरकानुनी काममा संलग्न गराउने जालसाजीको घटना बढेको उल्लेख गरिएको छ ।

यसरी थाइल्यान्ड, कम्बोडिया, र लाओसमा पर्यटक भिसामा काम गर्न जानेलाई कुनै पनि प्रकारको वैधानिक अनुमति प्राप्त नभएको अवस्थामा काम गराउँदा कानुनी कारबाहीमा पर्ने सम्भावना रहेको जनाइएको छ ।

साथै, यस्ता प्रलोभनमा नफस्न, कुनै पनि बाहानामा काम नगर्न, र वैदेशिक रोजगारीका लागि सम्बन्धित मुलुकहरूको आधिकारिक अनुमति बिना काम नगर्न पनि आग्रह गरिएको छ ।

दूतावासले थप सतर्कता अपनाउन र कुनै पनि प्रकारको रोजगारीका लागि आधिकारिक निकायहरूसँग परामर्श गर्न अनुरोध गरेको छ ।

नेपाली दूतावासले वैधानिक रूपमा रोजगारीको लागि जाने तरिका अपनाउन र अवैधानिक गतिविधिमा संलग्न नहुन सबै नेपाली नागरिकलाई सचेत गराएको छ ।

थाइल्यान्डमा एकलाख १० हजार बढी नेपाली छन् । भिजिट भिसामा जाने र अरू देश जाने तथा विभिन्न परिबन्दमा पर्ने घटना बढेपछि दूतावासले सचेत गराएको हो ।

थाइल्याण्डमा नेपाली राजदूत धनबहादुर ओली अघिल्लो महिना गएका हुन् । ९ असारमा थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेर औपचारिक काम थालेका उनले दुइदेशबीचको समबन्ध थप उपचाइमा लैजाने तथा मानव तस्करी रोक्ने विषयमा पहल थालेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved