१०० कनाल जग्गा : जसको कारण पाकिस्तानमा मच्चियो साम्प्रदायिक हिंसा

स्वामित्व आदानप्रदानमा विवाद, अफगानिस्तानको पनि हस्तक्षेप

पाडा चिनारको बाहिरी इलाकामा बस्ने मियाँ खेल भन्छन्, ‘यस द्वन्द्वमा ठूला हतियार पनि प्रयोग गरिएको छ । यो दुई जनजातिबीचको द्वन्द्व होइन, दुई देशबीचको द्वन्द्व हो, जसमा रकेट लन्चर, मिसाइल र ठूला बन्दुकको प्रयोग भइरहेको छ ।’

नेपालभ्युज

१०० कनाल जग्गा : जसको कारण पाकिस्तानमा मच्चियो साम्प्रदायिक हिंसा

काठमाडौं । पाकिस्तानको कुर्रम जिल्लाको सदरमुकाम पारा चिनारको बाहिरी इलाका, बुशहरा खैबर पख्तुनख्वा । जुन एक सामान्य पहाडी क्षेत्र जस्तै हो तर, यहाँ जमिनको एउटा टुक्रा छ, जसका लागि भएको लडाइँले अहिलेसम्म दर्जनौं मानिसको ज्यान लिइसकेको छ ।

बुशहराका दुई गाउँमा रहेका जनजातिबीच करिब १०० कनाल (प्रतिकनाल ५,४०० वर्ग फुट) जग्गाको स्वामित्वमा विवाद छ ।

प्रशासनकाअनुसार छ दिनअघि सुरु भएको द्वन्द्वमा ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १५० भन्दा बढी घाइते भएका छन् । आइतबार राति भएको झडपमा थप आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार मारिनेहरूमध्ये ३५ जना शिया समुदायका छन् भने ८ जना सुन्नी समुदायका छन् ।

आइतबार बुशहरामा शव आदानप्रदान भएको थियो । जसमा सुन्नी जनजातिले ११ शव शिया जनजातिलाई बुझाएका थिए भने शिया जनजातिले सुन्नी जनजातिलाई तीन शव हस्तान्तरण गरे ।

कुर्रम जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मिर हसन जानकाअनुसार जुलाई २४ देखि सुरु भएको झडपका कारण अस्पतालमा मात्रै ३२ शव र २०० भन्दा बढी घाइतेहरूलाई ल्याइएको छ ।

तीमध्ये ३२ घाइतेको अहिले पनि उपचार भइरहेको छ । गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि अन्यत्र पठाउने तयारी भइरहेको छ ।

६ दिनको द्वन्द्वपछि बुशहरामा दुई पक्षबीच शान्ति कायम भएको प्रशासनले जनाएको छ भने मोर्चहरू खाली गरी त्यहाँ प्रहरी र सेना परिचालन गरिएको छ । तर, जिल्लाका अन्य धेरै ठाउँमा जनजातिहरूबीच बारम्बार गोली हानाहान भइरहेको छ ।

कुर्रमको माथिल्लो भेग मकबल र तेरिमंगलमा शिया र सुन्नीबीच, मध्य कुर्रमको पाडा चमकानी र तल्लो कुर्रमको बालिश खेलमा अफगानिस्तानको सीमावर्ती क्षेत्रमा रातभर गोली हानाहान भइरहेको छ ।

विवाद के हो ?
यो त्यही जग्गाको टुक्रा हो, जुन हालैको द्वन्द्वको कारण बनेको छ । जुन विवादलाई लिएर गत वर्ष जुलाईमा कुर्रममा साम्प्रदायिक तनाव उत्पन्न भएको थियो, जसमा आधा दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

शान्ति समितिका सदस्य मलिक महमुद अली जानका अनुसार सय कनाल जग्गाको यो वर्षौ पुरानो विवाद गुलाब मिल्लीखेल र मडगी काले जातिबीच रहेको छ ।

गुलाब मिल्लीखेल शिया समुदायका हुन् भने मडगी काले सुन्नी समुदायका । अली जानका अनुसार यो विवादमा धेरै सशस्त्र द्वन्द्वहरू भइसकेका छन्, यस विषयमा धेरै जिर्गा (विशेष परिषद्) पनि भएका छन् तर, अहिलेसम्म यो समस्या समाधान हुन सकेको छैन ।

गत वर्ष यस विषयमा भएको जिर्गामा मलिक महमूद अली आफै पनि सहभागी थिए । सन् २०२३ मा सशस्त्र द्वन्द्वपछि शान्ति हुँदा र त्यसपछि ठूला जिर्गा आयोजना भएपछि सहमति भएको उनी बताउँछन् ।

उक्त सम्झौतामा जग्गा विवाद समाधान गर्ने ‘भूमि आयोग’ले उक्त जग्गाको टुक्रा राजस्व विभागको कागजपत्रको सहयोगमा सबैले स्वीकार गर्ने निर्णय भएको थियो ।

यस्तो अवस्थामा जिर्गा चलिरह्यो र अन्ततः उक्त टुक्रा जग्गाको स्वामित्व गुलाब मिलिखेलको हुने निर्णय भयो । यो निर्णयपछि मुद्दा समाधान गर्न गुलाबमिल्ली खेलले एक वर्षसम्म उक्त जग्गा प्रयोग नगर्ने अर्को लिखित सहमति भयो ।

सम्झौता अनुसार यो अवधिमा तेस्रो पक्षले प्रयोग गरी गुलाबमिल्ली खेललाई भाडा तिर्नेछ भने एक वर्षपछि पुनः भाडामा दिने वा आफैं प्रयोग गर्ने भन्ने विकल्प गुलाबमिली खेलसँग हुनेछ ।

अलि जान भन्छन्, ‘हाम्रो इलाकामा दुई पक्षबीच विवाद हुँदा समाधान गर्नुपर्ने चलन छ, जग्गा सिधै वास्तविक मालिकलाई नभई तेस्रो पक्षलाई ठेक्कामा दिइन्छ । र, त्यो तेस्रो पक्षले सही व्यक्तिलाई अधिकार दिन्छ ।’

अलि जानका अनुसार यो विवादमा तेस्रो पक्षले पनि एक वर्षसम्म सो जग्गा प्रयोग गरी गुलाब मिल्ली खेललाई भाडामा दिएको थियो ।

अब एक वर्ष पूरा भएपछि यो जग्गा गुलाबमिली खेललाई दिनुपर्ने थियो तर, गुलाबमिली खेलले त्यो जग्गा मागेपछि फेरि झगडा सुरु भयो । ‘सुरुमा दुई पक्षबीच झगडा सुरु भयो तर, स्थिति बढ्दै गएपछि यो आदिवासीबाट साम्प्रदायिक तनावमा पुग्यो ।’ उनले भने ।

उनले यो जग्गाको टुक्राको मात्रै विवाद नभएर पाँच–छवटा ठूला झगडा पनि रहेको बताए, जुन जहिले पनि गोत्र वा परिवारबाट बाहिर निस्केर साम्प्रदायिक द्वन्द्वको रूप लिन्छ ।

खैबर पख्तुनख्वाको आन्तरिक र जनजाति मामिला विभागको घोषणाअनुसार कुर्रममा आठ फरक भूमि विवादहरू चलिरहेका छन्, जसमध्ये अधिकांश स्वतन्त्रतापूर्व समयका हुन् ।

दुई जातिबीचको झगडा कसरी साम्प्रदायिक लडाइँमा परिणत भयो ?
बुशहरामा गुलाब मिल्लीखेल र माडगी काले गाउँका बासिन्दाहरूले एकअर्कालाई झगडालाई उकासिएको आरोप लगाउँछन् ।

माडगी कालेका मलिक नसीरले उक्त कुरालाई चर्काउनका लागि बुशहरास्थित अर्को गाउँमा गुलाब मिल्ली खेलले आक्रमण गरेको र त्यसपछि अहले सुन्नतका जनजाति आक्रोशित भएको बताए ।

अर्कोतर्फ माडगीका जनताले यसलाई साम्प्रदायिक रंग दिएर सहयोगका लागि अहले सुन्नतलाई बोलाएको गुलाब मिल्ली खेलका नोमान मलिकले बताए ।

पाडा चिनार बस्ने एक समाजसेवीले नाम न छाप्ने सर्तमा सुरुमा बुसेहरा र गुलाब मिल्ली खेलबीच झगडा भएको बताए । ‘तर, भोलिपल्टै अहले सुन्नतको बाहुल्यता रहेको पारा चिनार वरपरका गाउँहरूबाट पारा चिनारको जनसंख्यामाथि आक्रमण सुरु भयो ।’ ती व्यक्तिले भने ।

पाकिस्तान र अफगानिस्तानको सिमामा बसोबास गर्ने गाउँले पनि यस लडाइँमा भाग लिएको उनी बताउँछन् । यस अवधिमा अहले सुन्नत जनजातिले सीमापारबाट पनि सहयोग गरिरहेको उनको आरोप छ ।

यी समाजसेवीका अनुसार पारा चिनारलाई पारा चमकानी क्षेत्रले निशाना बनाएको थियो । पारा चमकनी उचाइमा अवस्थित छ र त्यहाँबाट पारा चिनारमा भारी हतियार प्रहार भएको थियो, जसका कारण बालबालिका र महिला पनि घाइते भएका थिए ।

पाडा चिनारको बाहिरी इलाकामा बस्ने मियाँ खेल भन्छन्, ‘यस द्वन्द्वमा ठूला हतियार पनि प्रयोग गरिएको छ । यो दुई जनजातिबीचको द्वन्द्व होइन, दुई देशबीचको द्वन्द्व हो, जसमा रकेट लन्चर, मिसाइल र ठूला बन्दुकको प्रयोग भइरहेको छ ।’

यी आरोपमा कुर्रम जिल्लाका प्रशासनसँग कुरा गर्न खोज्दा कुनै प्रतिक्रिया नआएपनि उक्त क्षेत्रका सत्तारूढ गठबन्धनका राष्ट्रिय सभाका सदस्य इन्जिनियर हमिद हसनले अफगानिस्तानसँग सीमा जोडिएको कुर्रम जिल्ला रहेको बताउँछन् । ‘संवेदनशील क्षेत्र र ‘जब क्षेत्रको समस्या समाधान हुँदैन भने षड्यन्त्रकारीलाई मौका मिल्छ ।’ उनले भने ।

‘हालको घटना पनि हाम्रो अगाडि छ । यो जमिनको विवाद थियो तर, दुर्भाग्य साम्प्रदायिक युद्धमा परिणत भयो । त्यसपछि सम्पूर्ण क्षेत्रमा दुवै सम्प्रदायका मानिसहरू एकअर्काविरूद्ध लड्न थाले भने अफगानिस्तानबाट पनि हस्तक्षेप जारी रह्यो । यसको कारण पाकिस्तान र अफगानिस्तानमा एकअर्काका आदिवासी आफन्तहरूसँगै बस्छन् ।’

हमिद हसन भन्छन्, ‘हालको झगडाको कुनै कारण थिएन । सबै निर्णय भएको थियो, केवल कार्यान्वयन गर्न बाँकी थियो । तर, त्यसो भएन । मुद्दा युद्धमा परिणत भयो ।’

उनका अनुसार ‘यस्तो जग्गा विवाद साम्प्रदायिकतामा परिणत हुन केही मिनेट मात्र लाग्यो । जब झगडा सुरु भयो, त्यतिबेला केही भ्रष्टहरू सक्रिय भए । क्षेत्र र मस्जिदहरूमा घोषणाहरू सुरु भयो । प्रचारप्रसार गरियो । अफवाह फैलाइयो र मानिसहरूलाई आ-आफ्नो सम्प्रदायको नाममा बोलाइयो ।’

राष्ट्रिय सभाका सदस्यका अनुसार बुशहरा लडाइँमा पनि त्यस्तै भएको थियो । सम्झौताबमोजिम जग्गा विवाद समाधान नहुँदा र जग्गा गुलाब मिल्लीखेललाई हस्तान्तरण नगर्दा यो विवाद बुशहरादेखि विभिन्न ठाउँमा फैलियो र केही बेरमै त्यसले पूरै क्षेत्रलाई घेरेको थियो ।

सरकारले जग्गा विवाद पहिले नै समाधान गरेको भए यस्तो समस्या कहिल्यै नआउने उनले बताए ।

समाधान के ?
कुर्रमको सामाजिक सङ्गठन सुधार समितिका प्रमुख अताउल्लाहले जिर्गाका निर्णय र त्यसबाट भएका सहमति कार्यान्वयन गर्न सरकार असफल भएकोले यो विवाद बारम्बार उठ्ने गरेको बताउँछन् ।

उनका अनुसार ‘जग्गाको विवादलाई बेलाबेलामा साम्प्रदायिक रंग दिइन्छ, त्यसपछि जिर्गा हुन्छ, सहमति हुन्छ तर, ती सम्झौता कार्यान्वयन हुँदैनन् । ती सम्झौता कार्यान्वयन गर्ने र हकदार जनतालाई अधिकार उपलब्ध गराउने दायित्व सरकारको हो । तर, जब त्यसो हुँदैन, तब षड्यन्त्र हुन्छ र समस्या पनि आउँछ ।’

अताउल्लाहका अनुसार, ‘कसैले पनि पाठ सिकेनन् । के चाहियो भने सरकारले सहमति कार्यान्वयन गर्ने हो । सरकारले गत वर्ष भएको महासभाका निर्णय कार्यान्वयन गर्नुपर्ने थियो तर, त्यसो भएन ।’

उनले वास्तवमा विवाद समाधान नहुनु नै शिया–सुन्नी द्वन्द्वको जग बनेको बताए । ‘हालैको द्वन्द्वमा स्थानीय आम जनताले जग्गाको विवादले अब साम्प्रदायिक द्वन्द्वको रूप लिन्छ भन्ने बुझेका छन्, सरकार र प्रशासनलाई थाहा नभएको कसरी सम्भव भयो ?’ उनले भने ।

शान्ति समितिका सदस्य मलिक महमूद अली जानका अनुसार कुर्रममा शिया र सुन्नीबीचको यो मात्र भूमि विवाद होइन, त्यहाँ कम्तिमा पाँच अन्य ठूला विवादहरू छन्, जसमा ठूला लडाडहरू भएका छन् ।

शान्ति समितिका एक सदस्यका अनुसार यी सबै विवाद समाधान नहुँदा गुलाबमिल्ली खेल र माडगी विवादजस्तै यो विवादले पनि जुनसुकै बेला ठूलो युद्धको रूप लिन सक्ने बताए । बीबीसी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved